काठमाडौँ । नेकपा एमाले पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी शर्मा ओली विनाको एमाले र एमाले विनाको नेपालको कल्पना नै असम्भव भएको स्पष्ट संकेत गरेकी छन् ।
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रममा धारणा राख्दै पालले भनिन्, ‘केपी ओली विनाको एमाले, एमाले विनाको नेपाल र समृद्धि-यो सबै कल्पनाबाहिरको कुरा हो। यस्तो सपना कोही कसैले नदेखे हुन्छ।’
अध्यक्ष ओलीकै नेतृत्वमा एमालेले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेलेकाले आगामी दिनमा पनि त्यही नेतृत्व अपरिहार्य रहेको उनको भनाइ छ ।
पोलिटब्युरो सदस्य पालले केन्द्रीय कमिटीको पछिल्लो निर्णयलाई ‘विधान महाधिवेशनको सार’ भन्दै त्यसमा सम्पूर्ण पार्टी पंक्तिको समर्थन आवश्यक रहेको बताइन्। ‘केन्द्रीय कमिटीको निर्णय नै विधान महाधिवेशनको सार हो, संकेत हो,’ भन्दै उनले सबै एमाले कार्यकर्तालाई त्यसमा एकजुट हुन आह्वान गरिन्।
उनको धारणा एमालेभित्र नेतृत्व र अनुशासनको विषयमा बढ्दो बहसबीच आएको हो। एमालेले चाँडै विधान महाधिवेशनको तयारी गरिरहेको सन्दर्भमा पालको यो वक्तव्य पार्टीको आधिकारिक लाइनलाई समर्थन गर्ने खालको देखिएको छ।







