काठमाडौँ । नेकपा एमालेका नेताहरू विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरूमाथि सुझाव संकलनमा जुटेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले गत १२ साउनमा अन्तरपार्टी निर्देशिका-१२, जारी गरी सुझाव संकलन गर्ने डेडलाइन तोकेका थिए । अपानि अनुसार आगामी १० भदौभित्र केन्द्रीय कमिटीलाई सुझाव पठाइसक्नुपर्नेछ ।
सुझाव संकलनका लागि एमालेले पार्टी संरचना र इमेललाई माध्यम बनाएको छ ।
पार्टीको इमेलबाट सुझाव पठाउने निर्णय पार्टीका हरेक सदस्यको व्यक्तिगत इच्छामा भरपर्ने भए पनि कमिटीगत छलफल भने एमालेले बाक्लो बनाएको छ । अपानि जारी भएपछि अहिले केन्द्रीय कमिटी भन्दा मुनिका पार्टी संरचनाहरुको बैठक लगातार बसिरहेको छ ।
केन्द्रीय विभाग, जनसंगठन र निकायहरूमा हुने छलफलको संयोजन केन्द्रीय कार्यालयले नै गरिरहेको छ ।
महासचिव शंकर पोखरेलकै नेतृत्वमा सुझाव संकलन कार्य अगाडि बढेको छ । सकेसम्म बैठकहरूको संयोजन महासचिव पोखरेलले नै गरिरहेका छन् ।







