काठमाडौँ । संघीय संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूले आग्रह गरेका छन् । राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनीहरूले तोकिएको समयभित्र निर्माण सम्पन्न नभए पनि अब थपिएको म्यादभित्र विलम्ब नगरी भवन निर्माण गर्न आग्रह गरेका हुन् ।
बैठकमा सहरी विकास तथा भवन निर्माण विभागसँग निर्माणाधीन संसद् भवनको पछिल्लो अवस्थाबारे छलफल भएको थियो । त्यस क्रममा सांसद मदनकुमारी शाह गरिमाले सिंहदरवारभित्रै समयमा भवन निर्माण सम्पन्न नहुनु दुःखद रहेको बताइन। उनले भनिन, “सिंहदरवारभित्रै यस्तो हालत छ भने अरूतिर के होला ? समितिले पटक पटक निर्देशन र ‘फलोअप’ गर्दा पनि संसद् भवन निर्माणले गति लिन सकेन । सबैको चासो हुँदा पनि काम नहुनुले हाम्रो काम गर्ने शैली र प्रतिबद्धतामाथि नै प्रश्न उठेको छ ।”
सांसद पदमबहादुर परियारले थपिएको म्यादभित्र पनि भवनको काम सम्पन्न हुनेमा विश्वस्त हुन सक्ने आधार नदेखिएको धारणा राखिन । “निर्माण कम्पनीले एक वर्षको समय माग गरेको थियो, तर ६ महिना म्याद थपिएको छ । के यो समयभित्र साँच्चिकै काम सकिन्छ त रु समयभित्र काम हुन्छ भन्ने विश्वास गर्न कठिन छ”, उनले भने । संसद् भवनको डिजाइन पनि अपाङ्गतामैत्री नभएको सांसद परियारको भनाइ थियो ।
सांसद रेणु चन्दले संसद् भवन निर्माण गरिराख्दा सदनमा प्रतिनिधित्व गर्ने ३३ प्रतिशत महिलालाई ध्यान राखेर बनाउनुपर्नेमा जोड दिइन्। उनले भनिन, “भवन निर्माण गर्दा अपांगमैत्री, महिलामैत्री छ वा छैन त रु स्तनपान कक्ष, शौचालयमा लगायत उपयुक्त सुविधा हुनुपर्छ ।”
भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर मचाकाजी महर्जनले निर्धारित म्यादभित्र निर्माण सम्पन्न गर्न प्रयास भइरहेको बताए। उनले निर्माण व्यवसायीबाट क्रमिक रूपमा जनशक्तिको सङ्ख्या बढाउँदै लगिएको जानकारी दिए । निर्माण कार्यमा आएका समस्या छिटो समाधान गर्न आयोजना कार्यालय, परामर्शदाता र निर्माण व्यवसायीबीच साप्ताहिक रूपमा त्रिपक्षीय बैठक बसेर काम अगाडि बढाउने गरिएको महानिर्देशक महर्जनको भनाइ थियो ।
विक्रम संवत् २०७६ असोज १६ गते भवन निर्माण सम्झौता हुँदा अन्तिम म्याद २०७९ असोज १६ गते रहेको थियो । उक्त अवधिमा निर्माण सम्पन्न हुन नसक्दा २०८२ पुस १६ गतेसम्म पाँचौँपटक म्याद थपिएर काम भइरहेको छ । भवनको हालसम्म भौतिक प्रगति ८६ प्रतिशत रहेको छ भने भवन ‘इन्टेरियर’ गर्ने कार्यको भौतिक प्रगति २१ प्रतिशत मात्र रहेको छ ।
बैठकमा सिंहदरवार ग्यालरी बैठक पुनर्निर्माणको अवस्थाबारे पनि छलफल भएको थियो । ग्यालरी बैठक पुनर्निर्माणका लागि विसं २०८१ जेठ ६ मा सम्झौता भई आगामी मङ्सिर ६ सम्म निर्माण सम्पन्न हुने लक्ष्य छ । विभागका अनुसार हालसम्म २५ प्रतिशत भौतिक प्रगति र २२ प्रतिशत वित्तीय प्रगति रहेको त्यस अवसरमा जानकारी दिइयो ।
विभागका उपमहानिर्देशक सुनिलकुमार ठाकुरले ‘रेट्रोफिटिङ’ कार्य सुरु गर्न गारो प्लास्टर निकालिएको र जगको प्रबलीकरणका लागि ‘माइक्रोपाइलिङ’को काम सम्पन्न भई अन्य कार्य भइरहेको जानकारी गराए। “निर्माण कार्यबाट निस्केको माटो तथा अरू नचाहिने सामग्रीको उचित व्यवस्थापन गर्न कठिनाइ भएको छ । रेट्रोफिटिङ कार्य आफैँमा जटिल कार्य हो । ग्यालरी भवनको मौलिकतालाई कमभन्दा कम क्षति पुर्याएर काम गर्नुपर्ने भएकाले सोचेकोभन्दा धेरै समय लाग्ने देखिन्छ”, उनले भने ।
काठमाडौँ उपत्यकाका विभिन्न राणाकालीन सभ्यता, कला र वास्तुकला र प्रविधिलाई प्रतिनिधित्व गर्ने यस भवनको ऐतिहासिक महत्त्व र मौलिकपना कायम हुने गरी भवनको प्रबलीकरण गरिने विभागले जनाएको छ ।







