काठमाडौँ । विगतमा गुण्डागर्दीमा संलग्न भएको आरोप लागेका चक्रे मिलन (मिलन गुरुङ) को समूहबाट प्रहरीले खुकुरी पनि बरामद गरेको छ ।
बुधबार राति महाराजगञ्ज क्षेत्रको बाँसबारी रोडमा रहेको होटेल साम्बालाबाट पक्राउ परेका यो समूहको गाडीबाट खुकुरी बरामद भएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार एउटा गाडीबाट २ थान खुकुरी बरामद भएको छ । साथै केही थान रडहरू पनि बरामद भएका छन् ।
उक्त खुकुरी र रडहरू आफ्नो सुरक्षाका लागि राखेको पक्राउ परेकाहरूले बताएको प्रहरीको भनाइ छ ।
गाडीको लावालस्करसहित बाटो समेत अवरुद्ध गरेर चक्रेलाई स्कर्टिङ गरेको भिडिओ सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निगरानी बढाएको थियो । त्यसपछि बिहीबार राति अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भद्रकालीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
चक्रे मिलनसहित ४७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अहिले उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।







