काठमाडौँ । संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न चाहने नेपालीहरूले अब ‘भिसा इन्टेग्रिटी शुल्क’ तिर्नुपर्ने भएको छ ।
हालै पारित गरिएको ट्रम्प प्रशासनको वन बिग ब्युटीफूल बिल एक्ट अन्तर्गत यो व्यवस्था गरिएको हो । कम्तीमा २५० अमेरिकी डलर शुल्क अन्य भिसा शुल्कहरूका अतिरिक्त शुल्क हो ।
यो शुल्क नेपालीका लागि नभएर संसारका धेरै देशहरूका लागि तोकिएको छ । एनबीसी न्यूजका अनुसार यो शुल्क कहिलेदेखि लागू हुन्छ र फिर्ता गर्ने प्रक्रिया के हो भन्ने कुरा अझै अस्पष्ट छ ।
सन् २०२५ को अमेरिकी आर्थिक वर्ष ९अक्टोबर १, २०२४(सेप्टेम्बर ३०, २०२५) मा शुल्क कम्तीमा २५० डलर तिर्नुपर्नेछ ।
यो शुल्क होमल्याण्ड सेक्युरिटी नेतृत्वले अझ बढाउन सक्नेछन् । आगामी वर्षहरूमा यो शुल्क मुद्रास्फीतिअनुसार समायोजन गरिने बताइएको छ ।
यो शुल्क सबै गैरआवासीय भिसा (नन-इमिग्रान्ट भिसा) लिने पर्यटक, व्यवसायी वा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लागु हुने उल्लेख छ । तर भिसा वेभर प्रोग्राम अन्तर्गत अमेरिका प्रवेश गर्न पाउने देशका नागरिकलाई यो लागु नहुन सक्छ। यी देशहरूमा अस्ट्रेलिया, जापान, केही युरोपेली देशहरू लगायत रहेका छन् ।
एनबीसी न्यूजका अनुसार यो शुल्क भिसा जारी हुने बेला तिर्नुपर्छ। तर भिसा अस्वीकृत भयो भने यो शुल्क तिर्नुपर्दैन । यो यसअघि भिसा शुल्कभन्दा थप अर्थात् अतिरिक्त शुल्क हो ।
उदाहरणका लागि, एच-वानबी आवेदनकर्ताले पहिल्यै २०५ डलर तिर्ने गरेकोमा अब ४५५ डलरसम्म तिर्नुपर्नेछ ।
एनबीसी न्यूजका अनुसार फर्म-१९४ को शुल्क ६ डलरबाट २४ डलरमा वृद्धि भएको छ । यो शुल्क अधिकांश आगन्तुकले तिर्नुपर्छ ।







