उदयपुर । उदयपुर जिल्लामा पहिलोपटक नयाँ नागरिकता प्रमाणपत्र लिने नेपाली नागरिकका लागि ‘नागरिक प्रतिवद्धता स्व-घोषणा’ कार्यक्रम औपचारिक रूपमा लागू गरिएको छ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले २०८२ साल श्रावण १ गतेदेखि लागू भएको यो नयाँ अभ्यासमार्फत नेपाली नागरिकलाई आफ्नो मुलुकप्रतिको कर्तव्यबोध गराउने, नागरिकताको प्रयोग र महत्व बुझाउने तथा असल नागरिक बन्न प्रेरणा दिने उद्देश्य राखिएको जनाएको छ।
सो कार्यक्रमको अवसरमा सात जना नयाँ नागरिकता प्राप्त गरेका नागरिकलाई प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले बधाई दिँदै सम्मानपूर्वक नागरिकता प्रदान गरे । कार्यक्रममा सहभागी नागरिकहरूले कार्यालयअगाडि राखिएको फ्लेक्स प्रिन्टमा उल्लेखित सात बुँदे नागरिक प्रतिवद्धता स्व–घोषणा एकैस्वरमा पढेर प्रतिबद्धता व्यक्त गरेका थिए।
नयाँ नागरिकता शाखाको अगाडि सात बुँदे प्रतिवद्धता सहितको फ्लेक्स प्रिन्ट राखिएको छ, जसमा असल आचरण, राष्ट्रप्रतिको निष्ठा, कानुनको पालना, दायित्व निर्वाह, सामाजिक सद्भाव, भ्रष्टाचारविरुद्धको प्रतिबद्धता र मुलुकको विकासप्रतिको सहयोग जस्ता विषय समेटिएको छ।
कार्यक्रममा नयाँ नागरिकता लिने नागरिकहरूलाई अविर, खादा र माला लगाएर सम्मान गरिँदै नागरिकता प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी लुइँटेलले भने, “नागरिकता प्रमाणपत्र लिने दिनलाई केवल प्रशासनिक प्रक्रिया होइन, असल नागरिक बन्ने प्रेरणादायी दिन बनाउनु पर्ने हो। यस अभ्यासले नागरिकमा मुलुकप्रतिको जिम्मेवारी र गर्व झन् बढाउने विश्वास लिएको छौं।”







