काठमाडौँ । राजस्व प्रशासनमा दक्ष जनशक्ति सुनिश्चित गर्न भन्दै अर्थ मन्त्रालयले राजस्व समूहका राजपत्राङ्कित तृतीय र द्वितीय श्रेणीका अधिकृत पदका शैक्षिक योग्यता संशोधनको प्रस्ताव अघि सारेको छ । मन्त्रालयले उक्त प्रस्ताव कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।
मन्त्रालयले हालको व्यवस्थाअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका पदमा व्यवस्थापन, वाणिज्य शास्त्र, व्यापार प्रशासन, कानुन, अर्थशास्त्र, जनप्रशासन, गणित वा तथ्याङ्क शास्त्रमा स्नातकोत्तरलाई मात्र अवसर मिल्ने व्यवस्था विस्तार गरी अबदेखि व्यवस्थापन, वाणिज्य शास्त्र, व्यापार प्रशासन, अर्थशास्त्र र जनप्रशासन बमोजिमको अनुभव प्रस्तावित गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएको छ ।
यस्तै तृतीय श्रेणीका अधिकृत पदका लागि अहिले स्नातक तहको सामान्य व्यवस्था रहेकोमा व्यवस्थापन, वाणिज्य शास्त्र, व्यापार प्रशासन, अर्थशास्त्र र जनप्रशासनमा स्नातक उपाधि हासिल गरेका वा चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेको व्यक्तिलाई योग्य मानिने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
यसअघि लोक सेवा आयोगले समेत राजस्व समूहका खुला तर्फका विभिन्न पदहरूको न्यूनतम शैक्षिक योग्यतालाई सेवा र समूहको कार्य प्रकृतिसँग तादात्म्यता मिल्ने गरी विशिष्टीकरण गर्न सुझाव जनाउँदै अर्थ मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन २०८१ मा पनि राजस्व प्रशासनको दक्षता तथा कार्यकुशलता वृद्धि गर्न सहायक र अधिकृत तहका कर्मचारीलाई लेखा, वाणिज्य शास्त्र, व्यापार शास्त्र, कर नीति र अर्थशास्त्रजस्ता विषयमा योग्यताको दायरामा राख्न सिफारिस गरिएको संशोधन गर्नुपर्नाको कारणमा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार शैक्षिक योग्यताको पुनरावलोकनसँगै राजस्व प्रशासनको कार्यक्षमता वृद्धि हुने विश्वास लिइएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री स्तरबाट निर्णय भई पठाइएको पत्रमा यसलाई आवश्यक प्रक्रिया पुर्याई संशोधन गर्न आग्रह गरिएको छ ।







