काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतमाथि भएको छानबिनको प्रतिवेदन पठाउन पत्राचार गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीवार महानगरको पत्रको ब्यहोरा अवगत भएको जनाउँदै त्यहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माथि भइरहेको छानबिन कार्यको स्थितिबारे स्पष्ट खुलाई पठाउन भनेको हो ।
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह ‘बालेन’ले एकातिर प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् भने अर्कोतर्फ सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई लाञ्छित गर्दै प्रशासकीय अधिकृत नपठाएकोमा स्ट्याटस पोष्ट गरेसँगै मन्त्रालयले यथार्थ अवस्थाबारे अवगतका लागि पत्राचार गरेको अधिकारीहरूले बताएका छन् ।
मन्त्री राजकुमार गुप्ताले अहिले कार्यरत प्रशासकीय अधिकृतलाई नतानी अर्को पठाउन नमिल्ने भन्दै बिहीबारसम्ममा अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउने बताए ।
‘संघीय सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृत अहिले पनि काठमाडौँ महानगरमै कार्यरत छन् । यदि महानगरको प्रतिवेदन सार्वजनिक भई कार्यरत प्रमुख प्रशासकीय अधिकृत दोषी देखिएको अवस्थामा अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउँछौँ, ’मन्त्री गुप्ताले प्रशासन सिंहदरवार विशेष ब्युरोसँग भने ।
यसैबीच, पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेको ‘भ्यु टावर’को नक्सा स्वीकृतिको विषयमा काठमाडौँ महानगरपालिकाले अनुसन्धान सुरु गरेपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ बिदामा बसेका छन् । मेयर साहले उनलाई कार्यालय प्रवेशमा रोक लगाएको बताइएको छ ।







