काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले देशभरका विभिन्न स्थानीय तहमा वडाध्यक्षहरूद्वारा निजामती कर्मचारीमाथि भएका हातपात तथा अमानवीय व्यवहारप्रति कडा आपत्ति जनाएको छ। संगठनले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता घटनाहरूले सेवा प्रवाहमा गम्भीर असर पार्ने र कर्मचारीको मनोबल कमजोर बनाउने भन्दै दोषी वडाध्यक्षहरूमाथि कानुनी कारबाहीको माग गरेको छ।
संगठनका अनुसार, मिति २०८१ फागुन ५ गते रुपन्देहीस्थित रोहिणी गाउँपालिकाको बैठकमा बोलिरहेका शिक्षा तथा खेलकुद शाखा प्रमुख मधुसूदन घिमिरेलाई सोही गाउँपालिकाका वडा नम्बर २ का वडाध्यक्ष करम हुसेन खानले हातपात गरेका थिए। त्यस्तै, २०८१ फागुन ५ गते तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडामा कार्यरत वडा सचिव नवीन भुषालमाथि हातपात गरेका थिए। त्यसैगरी, २०८१ फागुन ६ गते जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १३ का वडा सचिव तथा संगठनका केन्द्रीय प्रतिनिधि अञ्जना हमाललाई सोही वडाका वडाध्यक्ष यज्ञ बटालाले अपमानजनक शब्द प्रयोग गर्दै कुटपिट गरेका थिए।
नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारीले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक प्रशासनलाई गरिमामय बनाउन सेवा प्रवाह सुधारको माध्यमबाट काम गरिरहेको उल्लेख गर्दै कर्मचारीहरूमाथि भएका आक्रमण र दुर्व्यवहारले निजामती सेवामा नकारात्मक असर पार्ने जनाएको छ। संगठनले कानुन विपरीत भएका यस्ता घटनाहरू कुनै हालतमा स्वीकार्य नहुने बताउँदै दोषीहरूलाई मुलुकी संहिताअनुसार कारबाही गर्न जोडदार माग गरेको छ।
संगठनले समस्या समाधानका लागि वार्ता, संवाद र सामूहिक सहमतिलाई प्रभावकारी माध्यम मान्ने तर कर्मचारीमाथि अमानवीय व्यवहार गर्नेलाई उन्मुक्ति दिन नहुने स्पष्ट पारेको छ। साथै, संगठनले नेपाल सरकार र सरोकारवाला निकायलाई कर्मचारीहरूको कार्यस्थल सुरक्षाको प्रत्याभूति गर्न विशेष पहल गर्न आग्रह गरेको छ।
संगठनका महासचिव अधिकारीले चेतावनी दिँदै भनेका छन्, “यदि यस्ता घटनाहरू दोहोरिएमा नेपाल निजामती कर्मचारी संगठन बाध्यात्मक निर्णय लिन बाध्य हुनेछ।” कर्मचारीहरूमाथि हुने हिंसा र अपमानजनक व्यवहार तत्काल रोक्न आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन संगठनले सरकारसमक्ष माग गरेको छ।
सम्बन्धित समाचार : वडाध्यक्षले शिक्षा प्रमुखमाथि हातपात परेपछि आन्दोलनमा उत्रिए कर्मचारी
सम्बन्धित समाचार : शाखा प्रमुखमाथि वडाध्यक्षको आक्रमण : दोषीलाई कारबाही नभएसम्म पालिकाको सेवा बन्द
सम्बन्धित समाचार : रुपन्देहीमा कर्मचारीमाथि हातपात गर्ने वडा अध्यक्षलाई कारवाही गर्न कर्मचारी युनियनको माग
सम्बन्धित समाचार : कर्मचारीमाथि भएको कुटपिटको विरोधमा राप्तीका सबै वडासचिवले गरे पेन डाउन
सम्बन्धित समाचार : राष्ट्रसेवक कर्मचारीमाथि बढ्दो दुर्व्यवहारप्रति सांसदहरूको आपत्ति
सम्बन्धित समाचार : वडाध्यक्षले गरे वडा सचिवमाथि कुटपिट
सम्बन्धित समाचार : वडा सचिवमाथि कुटपिट गर्ने वडाध्यक्षलाई कडा कारवाहीको माग







