काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायण प्रसाद शर्मा दुवाडीलाई स्वागत गरिएको छ भने यसअघि सचिव रहेका घनश्याम उपाध्यायलाई बिदाइ गरिएको छ।
बिहीबार आयोगको कार्यालयमा आयोजित कार्यक्रममा दुवाडीलाई स्वागत र उपाध्यायलाई बिदाइ गरिएको हो ।
कार्यक्रममा बोल्दै, अख्तियारबाट सरुवा भई अर्थ मन्त्रालय गएका सचिव उपाध्यायले आयोगमा रहँदा प्राप्त गरेको ज्ञान र अनुभवलाई नेपाल सरकारका अन्य निकायहरूमा पनि सदुपयोग गर्न आफू संकल्पित रहेको बताए।
त्यसैगरी, आयोगका नवनियुक्त सचिव दुवाडीले अख्तियार सुशासनको मानक स्थापित गर्ने एक आदर्श संस्था भएकाले त्यसको प्रतिष्ठा जोगाउन कटिबद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उपाध्यायको योगदानको प्रशंसा गर्दै नयाँ जिम्मेवारीमा पनि उनले कुशलतापूर्वक कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे। साथै आयोगमा सरुवा भई आएका सचिव दुवाडीको स्वागत गर्दै, संवैधानिक दायित्व पूरा गर्न उनको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे।