काठमाडौँ । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नैतिक संकटमा रहेको टिप्पणी गरेका छन् ।
सर्लाहीमा लोसपा नेपालको जिल्ला कार्यसमिति अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै पार्टीबाट सरकारमा गएका मन्त्री शरतसिंह भण्डारीले राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने बताए ।
उनले भने, ‘केन्द्रीय सरकारलाई नैतिक संकट आएको छ,हामीले भूमि सम्बन्धी अध्यादेशको विरोध गरेका छौँ । नदी किनार, जंगल छेउमा आएर कब्जा गर्छन् । हामीले सरकार गिराउन खोजेको होइन तर नैतिक संकट त आयो । हामी अहिलेसम्म सरकारमा थियौँ तर अध्यादेशमा सरकारको विरोध गरेपछि नैतिक संकट। हाम्रा मन्त्रीलाई भनिसकेको छ जो एकाध दिनमा गर्ने हो गरिहाल्नू सरकारबाट बाहिरिनु पर्ने हुन्छ । उनीहरूलाई नै हटाइदिन पनि सक्छन् ।’
उनले भूमिसम्बन्धी अध्यादेश कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।