काठमाडौँ । जिल्ला अदालत मोरङले सहकारीको रकम हिनामिनाको आरोप लागेका शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउन आइतबार आदेश दिएको छ।
रौनियार मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष हुन्। न्यायाधीश अरुणकुमार झाको इजलासले रौनियारलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। अदालतका अनुसार आदेशलगत्तै रौनियारलाई कारागार चलान गरिएको छ।
तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने गरी रौनियारलाई कारागार चलानको आदेश भएको हो। बचतकर्ताले जम्मा गरेको रकम अपचलनमा मुछिएपछि सहकारीको कार्यालय बन्द गरेर फरार भए उनी यही माघ १४ गते अदालतमा हाजिर भएका थिए।







