काठमाडौँ । अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रामेछाप खाँडादेवी गाउँपालिका-९ घर भएका हाल काठमाडौँ बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका-१३ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले बेटिङ एप्लिकेशन मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेम्सहरू वसाइट मार्फत जुवा (सट्टावाजी) गरी रकम संकलन गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने लगायतका गैर कानूनी काम गरेको कार्यहरू अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूको साथमा हालसम्म २ करोड ४१ हजार ६ सय ३६ रुपैयाँ बराबरको कारोबार गरेको साथै नगद ९० हजार रुपैयाँ, मोबाइल ४ थान, कम्प्युटर सिपियु १ थान, सिम कार्ड ५९ थान, एटिएम कार्ड २७ थान र चेक बुक ७ थान बरामद गरेको छ ।
उनीहरू हाल पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।