काठमाडौँ । कृषि विकास बैंक स्थापनाको ५८औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रूपमा मान्यता पाएको थियो ।
बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकको क्षमता, सामर्थ्य, बैंकको प्रतिष्ठा र बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन बैंकका सबै कर्मचारीहरूलाई आग्रह गरेका छन् । उनले बैंक सबल, प्रभावकारी र बैंकको इज्जत माथि उठ्यो भने समस्त कर्मचारीको इज्जत माथि उठ्ने भएकाले बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन आग्रह गरे ।
पौडेलले भने, ‘विशेष गरी बैंकको व्यवस्थापन र कर्मचारी साथीहरूका बीचमा जीवन्त सम्बन्ध हुनुपर्छ । जहाँ राम्रो सम्बन्ध हुन्छ त्यहाँ प्रगति हुन्छ । म सबै कर्मचारीहरूलाई आग्रह गर्न चाहन्छु । यहाँहरूले सबै भन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामर्थ्य, बैंकको प्रतिष्ठा र बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउनु पर्दछ । बैंक सबल भयो, बैंक प्रभावकारी भयो, बैंकको इज्जयत माथि उठ्यो भने समस्त कर्मचारीहरूको इज्जत माथि उठ्छ ।’
साथै उनले प्राय व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरूले अपेक्षित प्रगति गर्न नसकेको बताए । उनले हरेक बैंकहरूले रोजगारी सिर्जना हुने ठाउँमा आफ्नो लगानी गर्न समेत आग्रह गरे ।