काठमाडौँ । सेवा प्रवाह र सुरक्षाको हिसाबले संवेदनशील मानिने जिल्ला प्रशासन कार्यालय डोटीले कर्मचारी अभावको समस्या झेल्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालय, डोटीमा प्रशासकीय अधिकृत पदमा कार्यरत रमा कुँवर २०७९ साल माघ २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएर गइन् । उनी सरुवा भएको झन्डै ५ महिनापछि २०८० साल असार २० गते उनको ठाउँमा तारानाथ पनेरु सरुवा भई आएको भन्दै गृह मन्त्रालयको पत्र आयो ।
पत्र आयो तर व्यक्ति आएनन् । पनेरु जिल्ला प्रशासन कार्यालयमा पाइला टेक्न पनि आएनन् । उनी कागजमा मात्रै आए, काजमै आठ महिना बिताए । उनी आफू त कार्यालयमा पुगेनन् तर उनको अध्यागमन कार्यालयमा सरुवा भएको भन्दै २०८० साल फागुन १ गते अर्को पत्र आएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा कार्यरत अर्का अधिकृत दिपा जोशी काठमाडौँ काज सरुवा गरिएको भन्दै २०८० साल साउन ३२ गते पत्र आयो । काजमै ९ महिना बिताएपछि २०८१ साल वैशाख २६ गते जोशीको पनि सहरी विकास मन्त्रालयमा सरुवा भएको पत्र आयो ।
२०८० साल मङ्सिर २३ गते देवी प्रसाद जोशीलाई त्यस कार्यालयमा सरुवा गरी पठाइएको भनी मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठायो । तर ती देवी प्रसाद जोशी अहिलेसम्म डोटी पुगेका छैनन् । उनी कतै सरुवा भए कि, काजमा छन् कि, सेवा छन् कि अवकाश भए भन्ने समेत जिल्ला प्रशासन कार्यालयलाई कुनै जानकारी आएको छैन ।
२०८१ साल वैशाख २३ गते सरुवा भई आएका रामदिन चौधरीले जम्माजम्मी पाँच महिना मात्रै डोटीमा बिताए । असोज ६ गते उनलाई जिल्ला हुलाक कार्यालय बर्दिया सरुवा गरेको पत्र आएको थियो । गत मङ्सिर १० गते शाखा अधिकृत सन्तोष लामिछानेलाई अध्यागमन कार्यालयबाट सरुवा गरी पठाइएको भन्दै अर्को पत्र आयो जिल्ला प्रशासन कार्यालयलाई । तर पत्र आएको एक महिना ७ दिन बितिसक्दा पनि लामिछानेको पत्तो छैन । उनी बाटोमै छन् कि, कतै काज मिलाएर गए कि, फेरी उतैबाट सरुवा भए भन्ने समेत जानकारी छैन ।
डोटीमा सहायक प्रमुख जिल्ला अधिकारीको पदमा कार्यरत दीर्घ राज उपाध्याय प्रमुख जिल्ला अधिकारी भएर कात्तिक १२ गते बैतडी सरुवा भएपछि उक्त पद पनि रिक्त छ ।
कार्यालयमा कुनै शाखा अधिकृत नहुँदा सेवाग्राहीले घण्टौँ कुर्नु पर्ने बाध्यता छ । ‘सिडिओ साव एक्लै हुनुहुन्छ, उहाँका बैठक, कार्यक्रमहरू पनि भइराख्छन्’ जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी भने, ‘नागरिकतामा हस्ताक्षर गर्ने अधिकार अधिकृत स्तरको कर्मचारीलाई मात्रै हुन्छ, अर्को अधिकृत छैन । त्यसैले सेवाग्राहीहरूलाई कुराउनु पर्ने बाध्यता छ ।’ कर्मचारी पठाइदिन मन्त्रालयमा पटक पटक आग्रह गरिएको भए पनि केही सीप नचलेको ती कर्मचारी बताउँछन् ।
राजपत्रांकित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारी, द्वितीय श्रेणीको सहायक प्रमुख जिल्ला अधिकारी र थप दुई जना राजपत्रांकित गरी चारजना अधिकृत स्तरको दरबन्दी भएको कार्यालयलाई दुई महिना बढी समयदेखि एक जना प्रमुख जिल्ला अधिकारीले धानिरहेका छन् । ‘दैनिक प्रशासकीय कार्य, सेवा प्रवाह, सुरक्षा संयन्त्रसँगको समन्वय र विभिन्न सवालहरूमा समन्वयका साथसाथै प्रमुख जिल्ला अधिकारी उपस्थित हुनै पर्ने कतिपय सार्वजनिक कार्यक्रममा सहभागी हुनुपर्छ’ प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी भन्छन् ‘उता नजाऊ सिडिओ आएन भनेर गाली गर्छन्, उता जाऊ, यता सेवाग्राहीले सिडिओले कुरायो भनेर गाली गर्छन् ।’ आफूले लिखित रूपमा र मौखिक रूपमा एक जना भए पनि कर्मचारी पठाइदिनु पर्यो भनेर लेखि पठाइसकिएको जोशी बताउँछन् ।
सेवा प्रवाह र सुरक्षाको हिसाबले पनि संवेदनशील मानिने जिल्ला प्रशासन कार्यालयमा मात्र नभई जिल्लाका अधिकांश स्थानीय तह र प्रदेश र संघ अन्तरगतका कार्यालयहरूमा समेत दरबन्दी अनुसारका कर्मचारी व्यवस्थापन हुन सकेको छैन । अहिले पनि एक जना कर्मचारीले दुई, तिन वटा कार्यालय चलाउनु पर्ने बाध्यता रही आएको छ ।