अछाम। खरिदार तहका कर्मचारीको बढुवा प्रक्रियामा दुर्गम क्षेत्रमा लामो समयदेखि सेवा गरिरहेका कर्मचारीहरू अन्यायमा पर्ने क्रम जारी छ।
दुर्गम जिल्ला अछाममा कार्यरत कर्मचारीहरूले सुगम क्षेत्रबाट अस्थायी रूपमा दुर्गममा सरुवा भई बढुवा प्रक्रिया पूरा गर्ने प्रवृत्तिले आफूहरूमाथि ठूलो अन्याय भएको गुनासो गरेका छन्। जिल्ला प्रशासन कार्यालय अछामका खरिदार खम्मबहादुर बोगटीले भने,’आन्तरिक बढुवा खुल्नु केही दिनअघि मात्र सरुवा गरेर दुर्गममा आउने, बढुवा भएलगत्तै सुगममा फर्किने प्रवृत्तिले दुर्गममा निरन्तर सेवा गरिरहेका हामीजस्ता कर्मचारीहरूलाई ठूलो असर परेको छ।’
बोगटीका अनुसार, दुर्गममा लामो समयदेखि सेवा दिइरहेका कर्मचारीहरूको माग र गुनासो सम्बन्धित मन्त्रालय तथा विभागसम्म पुर्याइए पनि उचित सुनुवाइ भएको छैन।
बढुवाको लागि मात्रै दुर्गम सरुवा
ढकारी गाउँपालिका अछामका खरिदार कमल भण्डारीले दुर्गम क्षेत्रका कर्मचारीहरूलाई ”बढुवाको माध्यम’ मात्र बनाउने प्रवृत्तिको आलोचना गरे। ‘खरिदार तहका धेरै कर्मचारीहरू बढुवा खानका लागि मात्र दुर्गममा जान्छन्। बढुवा भएपछि केही महिनामै सुगममा फर्किने क्रमले दुर्गममा बसेर लामो समयदेखि सेवा गरिरहेका कर्मचारीहरूको हकमा प्रत्यक्ष असर पुर्याएको छ,’ भण्डारीले दुखेसो पोखे।
उनका अनुसार, दुर्गम जिल्लाका सरकारी कार्यालयहरूमा काम गर्न नमान्ने कर्मचारीहरू ‘पावर’ र ‘पहुँच’ प्रयोग गरी अस्थायी रूपमा दुर्गममा सरुवा हुन्छन् र बढुवा प्रक्रिया पूरा भएपछि तुरुन्तै सुगम फर्किन्छन्।
अन्यायको अन्त्यका लागि माग
दुर्गम जिल्लाहरूमा सेवा गरिरहेका कर्मचारीहरूको हक संरक्षण गर्न सरकारले ठोस नीति अपनाउनुपर्ने आवश्यकता रहेको आवाज उठ्दै आएपनि त्यसको सम्बोधन हुन सकिरहेको छैन । दुर्गममा सेवा अवधि, कार्यसम्पादन मूल्यांकन र बढुवाका मापदण्डलाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने कर्मचारीहरुले बताउँदै आएपछि पहुँचवालहरुले नै बिचैमा बढुवा टिप्ने गरेका छन् ।
खरिदार खम्मबहादुर बोगटीले भने, ‘हामीले हाम्रो सेवा, मेहनत, र योगदानको न्यायपूर्ण मूल्यांकन चाहेका हौं। यसरी दुर्गमलाई बढुवाको औजार बनाउने प्रवृत्ति रोक्न अब सरकार गम्भीर हुनुपर्छ।’
सरकारले समयमै यसबारे ध्यान नदिए दुर्गम क्षेत्रमा कर्मचारी खटाउन कठिनाई झन् बढ्न सक्ने र कर्मचारीहरूको मनोबलमा नकारात्मक प्रभाव पर्ने अधिकारीहरुको भनाई छ ।