काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले चाडपर्वको समयमा काला बजारी गर्ने कसैलाई पनि नछोड्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौँमा आयोजित ‘बजारको सुशासनमा देखिएको चुनौती र हाम्रो दायित्व’ विषयक कार्यक्रममा बोल्दै उनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई काला बजारी नियन्त्रण गर्न आवश्यक निर्देशन दिएका छन् ।
मुख्यसचिव अर्यालले चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने काला बजारी, अनावश्यक भाडा वृद्धि, खाद्य वस्तुमा मिसावट जस्ता क्रियाकलापहरू नियन्त्रण गर्न सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारे। उनले बजारको अनुगमन र आवश्यक कारबाही गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिँदै जनतालाई सेवा दिन बर्दी र पदको प्रवाह नगरी काम गर्नुपर्ने बताएका छन् ।
अर्यालले सरकारी अधिकारीहरूलाई चाडपर्वको समयमा जनताको समस्याहरूलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्दै भने, ‘यो समयमा राजनीतिक झोला बोक्नुको सट्टा जनताको झोला बोक्नुपर्छ । पद र बर्दी भुली जनताको सेवामा खटिनु आवश्यक छ ।’
उनले नेपालमा कानुनको कमी नभएको तर यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने पनि बताए। उनले बजार अनुगमनलाई थप सशक्त बनाउन निर्देशन दिँदै, कुनै पनि समस्या देखिएमा मलाई सिधै रिपोर्टिङ गर्नुहोस्’, भने । साथै, चाडपर्वका समयमा सडक, यातायात व्यवस्थापन र अन्य आवश्यक सेवा सुलभ बनाउन पनि सम्बन्धित निकायलाई तत्पर रहन निर्देशन दिएका थिए।
अनुगमनको लागि सादा पोसाकमा प्रहरी परिचालन
कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयकी प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) किरण बज्राचार्यले चाडपर्वको समयमा हुने लुटपाट, ठगी, मादक पदार्थ सेवन र यौनजन्य हिंसा नियन्त्रण गर्न प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरेको जानकारी दिइन्। उनले चाडपर्व नजिकिँदै गर्दा विभिन्न अपराधिक क्रियाकलापहरूलाई नियन्त्रण गर्न प्रहरीको गतिविधि थप सशक्त भएको उल्लेख गरिन्।
गुणस्तर र अनुगमनमा समस्या देखिए भन्नुहोस्
नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशीले गुणस्तर चिन्ह प्राप्त नगरेका वस्तुहरूको अनुगमन भइरहेको र उपभोक्ताहरूले कुनै समस्या देखिएमा ‘कम्प्लेन’ गर्न सक्ने बताइन्। साथै, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले वर्षभर नै बजार अनुगमन गरिरहेको जानकारी दिँदै चाडपर्वका समयमा पनि गुणस्तरहीन वस्तुहरूलाई नियन्त्रण गर्ने अभियानमा विभाग सक्रिय रहेको बताए।
यात्रा व्यवस्थापनमा प्राथमिकता
यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा यात्रुहरूलाई टिकट काटेर मात्र यात्रा गर्न अनुरोध गर्दै कालो नम्बर प्लेट भएका सार्वजनिक यातायातलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे। चाडपर्वको समयमा यात्रुहरूको सहज आवागमनका लागि यातायात व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उनले औँल्याए।
तराई विकास तथा सञ्चार केन्द्र, नेपालले आयोजना गरेको उक्त कार्यक्रममा काठमाडौँ, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित अधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो ।