काठमाडौँ । जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ ।
गए राति गएको पहिरोमा घरसँगै परी चलाउने परिवार पुरिएका थिए । मृतक चलाउनेकी घाइते भएकी ११ वर्षीया छोरी सम्झना चलाउनेलाई भने करिब ५ घण्टापछि जिवितै उद्धार गरिएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले प्रशासनलाई जानकारी दिए ।
उनका अनुसार पहिरोमा पुरिएकाको खोजी गर्ने क्रममा चलाउने दम्पतीको शव फेला परेको हो । घाइते भएकी सम्झनालाई उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा सेनाको हेलिकप्टरमार्फत पठाइएको र सम्झनाको उपचार भइरहेको उनले बताए ।
मृतक चलाउने दम्पतीको शव लिम्सास्थित गाउँपालिकाको आधारभूत अस्पतालमा ल्याएर कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको जाजरकोट प्रहरीले जानकारी दिएको छ ।