काठमाडौँ । गृह मन्त्री रमेश लेखकले गृह सचिव एकनारायण अर्यालको मुख्य सचिवमा पदोन्नतिलाई गृह प्रशासनका लागि सुखद विजयको रूपमा स्वागत गरेका छन् । गृह मन्त्रालयमा आयोजित बिदाइ समारोहलाई सम्बोधन गर्दै गृहमन्त्रीले अत्यन्त योग्य, दक्ष र परिपक्व प्रशासकको रूपमा अर्यालको मुख्य सचिवमा नियुक्ति भएकोमा खुसी व्यक्त गरे ।
गृह मन्त्री लेखकले अर्यालको नेतृत्वमा आगामी निजामती प्रशासनले उत्कृष्ट प्रगति गर्ने विश्वास व्यक्त गरे । उनले सार्वजनिक प्रशासन सुधारका लागि सबै क्षेत्रबाट महत्वपूर्ण भूमिका आवश्यक रहेको र उपलब्धि दिन आवश्यक रहेको औंल्याए ।
समारोहमा गृह सचिव एवं नवनियुक्त मुख्य सचिव अर्यालले नेपाल सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै सार्वजनिक प्रशासन सुधारका लागि कटिबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । गृह प्रशासन सुधारका लागि आफ्नो निरन्तर प्रयास रहेको उल्लेख गर्दै अर्यालले ६८ बुँदे गाइडलाइन निर्माण गरी प्रमुख जिल्ला अधिकारीहरूलाई सक्रिय बनाउने काम गरेको र यसले गृह प्रशासनलाई नतिजामुखी बनाएको उल्लेख गरे ।

उनले बेष्ट परफरमरलाई प्रमुख जिल्ला अधिकारीको रूपमा खटाउनु पर्नेमा जोड दिँदै, प्रमुख जिल्ला अधिकारीको न्यूनतम योग्यता मापदण्ड स्वीकृत भइसकेकाले सोहीअनुसार खटाउन सके गृह प्रशासनमा ठूला सुधारहरू आउने आशा व्यक्त गरे ।
अर्यालले राष्ट्रिय परिचय पत्रलाई सेवासँग आबद्ध गराउन सके नागरिकहरूलाई विभिन्न प्रमाणपत्र बोकी हिँड्नुपर्ने झन्झटबाट मुक्त हुने बताउँदै, ७० प्रतिशत भन्दा बढी गभर्नेन्सको काम गृह प्रशासनबाट हुने भएकाले यसलाई सुधार्न सके सरकारको समग्र प्रदर्शनमा ठूलो परिवर्तन देखिने धारणा राखे ।

मन्त्रालयका वरिष्ठ सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले नव नियुक्त मुख्य सचिव अर्यालको नियुक्तिले निजामती सेवा सुधारमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको बताए ।
पाँच महिना १५ दिनको कार्यअवधिमा गृह प्रशासनमा बसालेको थिति अनुसार काम गर्न प्रतिबद्ध रहेको र मार्ग निर्देशन सधैं आवश्यक रहेको पनि उनले उल्लेख गरे ।









