काठमाडौँ । नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर सम्बन्धी कुनै विवाद नरहेको प्रष्ट्याएको छ ।
बिहीबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको उमेर सम्बन्धमा कुनै विवाद नरहेको प्रष्ट्याएका हुन् ।
‘तत्कालीन जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट २०४० साउन २९ गते लिएको नागरिकता म देखाउन चाहन्छु,’ सहायक रथी केसीले सिग्देलले लिएको पहिलो नागरिकता देखाए । उक्त नागरिकतामा सिग्देलको उमेर १७ वर्ष भनेर उल्लेख गरिएको बताए। त्यस्तै २०५८ जेठ ८ गते जाजरकोट जिल्ला प्रशासनबाट नागरिकताको प्रतिलिपि लिएको उनले बताए ।
‘पहिले जारी भएकै नागरिकताको प्रतिलिपि लिनुभएको थियो। जसमा रुपन्देहीबाट जारी भएको विवरण कुनै पनि फरक नपरेको देखिन्छ,’ सहायक रथी केसीले भने ।
दुवै नागरिकतामा एउटै नागरिकता नम्बर र जारी मिति रहेको उनले बताए । उनले रथी सिग्देलको एसएलसीको प्रमाणपत्र पनि सार्वजनिक गरी त्यही जन्म मिति रहेको बताए ।
एसएलसीको प्रमाणपत्र देखाउँदै उनले जन्म मिति २०२३/१०/१९ रहेको बताए। जुन २०४० साल भदौ २९ गते जारी भएको थियो । अर्को २०४३ भदौ १२ मा सुपिङ बहुमुखी क्याम्पसबाट जारी भएको प्रमाणपत्र रहेको छ,’ सहायक रथी केसीले भने, ‘जसमा २०२३/१०/१९ नै छ । नेपाली सेनामा भर्ना हुँदा पनि यही नागरिकता र यही प्रमाणपत्र पेस गरेर भर्ना भएको हो।’
प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल यही भदौ २४ गते सकिँदै छ। त्यसपछि रथी सिग्देल प्रधानसेनापति हुनेछन् । सिग्देलको उपरथीबाट रथीमा बढुवा हुने बेला नै उमेरलाई लिएर विवाद भएको थियो । तर विवाद आएसँगै नेपाली सेनाले उनको नागरिकताको विषयमा छानबिन गरी कुनै समस्या नरहेपछि उनको बढुवा गरेको थियो ।