काठमाडौँ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन् ।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले पदको दुरुपयोग नगरीकन सन्तुलित रूपमा बजेट विनियोजन गरेको दाबी गरेका हुन् ।
उनले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताए । उनले बजेट पास गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन गएर नागरिकसँग अन्तरक्रिया गर्ने बताएका छन् ।
‘बजेट हामीले सकेजति, गर्नसके जति, गर्न परेको आवश्यकताअनुसार विभिन्न ठाउँमा आएको प्राथमिकताअनुसार भएको छ । पदको दुरुपयोग गरिएको छैन । पदको सदुपयोग गरिएको छ । आवश्यकताअनुसार सकेको गरिएको छ । बजेट पास गरिसकेपछि उहाँहरूसँग चितवन नै गएर अन्तरक्रिया गर्नेछु’, उनले भने, ‘आवश्यकताअनुसार जसरी मलाई नागरिकहरूले भन्दै आउनुभएको थियो, मैले पनि यो आवश्यकता नै हो है भनेर प्राथमिकीकरण गरेर गरेको छु । नागरिकको आवश्यकताअनुसार बजेट विनियोजन गरेको छु । बजेट प्रणालीमै समस्या छ । जुन ढंगले बजेट बनाउँछौँ, छलफल गर्छौँ त्यो प्रणालीमा नै समस्या छ । छलफल स्वभाविक छ ।’