काठमाडौँ । संसद सचिवालयका कर्मचारीको आन्दोलन लगायतको विषयमा छलफल गर्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राखेको बैठक सकारात्मक भएको छ ।
राज्यव्यवस्था समितिको हलमा बसेको बैठकले कर्मचारीको न्यायोचित माग सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि कर्मचारीले गरेको श्रमअनुसारको सेवा सुविधा पाउनुपर्छ भन्नेमा सबै एकमत रहेको बताएका छन् ।
बैठकमा दुवै सभाका पदाधिकारी, दुवै सभाका प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसद्का महासचिव र सचिवालय सचिवलगायत सहभागी थिए । संघीय संसद सचिवालय कर्मचारी युनियनका तर्फबाट अतिरिक्त समयमा गरेको कामको भत्ता पाउनुपर्ने लगायतको ११ बुँदे माग राखेर कर्मचारीहरू आन्दोलनमा छन् ।
कर्मचारीहरूले भने आजको प्रारम्भिक छलफल मात्रै भएकाले कुनै ठोस सहमति नभएको बताएका छन् । अर्थमन्त्रीसँग छलफल गरेर जवाफ दिन्छु भने पनि आफूहरूको आन्दोलन फिर्ता नभएको एक कर्मचारीले बताए ।