पोसाकको गरिमा बचाउन संवेदनशील हुन नगर प्रहरीलाई प्रमुख प्रशासकीय अधिकृत परियारको आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पोसाकको गरिमा बचाउन संवेदनशील हुन नगर प्रहरीलाई प्रमुख प्रशासकीय अधिकृत परियारको आग्रह


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीति र नागरिकका अपेक्षाप्रति जिम्मेवार रहन महानगर प्रहरी बललाई निर्देशन दिएका छन् ।

बागदरबारस्थित प्रहरी बल, कार्यालयको निरीक्षण तथा नगर प्रहरीले सम्पादन गर्ने कामका विषयमा जानकारी लिएपछि बिहीबार उनले यस्तो निर्देशन दिएका हुन् । नगर प्रहरी बलले आर्जन गरेको जनविश्वासलाई आत्मीयतासँग जोड्दै लैजान निर्देशन दिँदै उनले भने, ‘तपाईँहरूले धेरै काम गर्नु भएको छ । राजधानी सहरको व्यवस्थापनमा यसलाई बढाउनु र दिगो बनाउनुपर्ने छ ।’

नगर प्रहरीलाई आवश्यकताका आधारमा स्रोत, साधन तथा प्रविधिजन्य उपकरण उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको उनले बताए । ‘उपलब्ध जनशक्तिको परिचालनबाट प्राप्त भएको उपलब्धिलाई बढाउँदै, संस्थागत गर्दै, क्षमता विकास गर्दै लैजाऔँ ।’ प्रमुख प्रशासकीय अधिकृत परियारले पोसाकको गरिमा बचाउन निष्पक्षतामा संवेदनशील हुन आग्रह गरे ।

प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले वातावरण व्यवस्थापन, जुद्ध वारुणयन्त्र कार्यालय सञ्चालन, अनधिकृत सवारी पार्किङ व्यवस्थापन, तार व्यवस्थापनलगायतका काममा नगर प्रहरी परिचालन गर्ने गरिएको जानकारी गराए । निरीक्षणका क्रममा नियन्त्रण कक्ष सञ्चालन, खाना खाने मेस, पकाउने ठाउँ, बस्ने तथा सुत्ने कक्षको निरीक्षण तथा सवारी साधनहरूको अवस्था र परिचालन हेरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस