काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले गत सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनबाट प्रहरीको नियन्त्रणमा रहेका लघुवित्त पीडितहरूलाई मुद्दा नचलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ।
बुधवार नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले संसदीय दलका सचेतक महेश बर्तौलालगायत एमाले संसदीय दलको टोलीले गृहमन्त्री श्रेष्ठसँग भेट गर्दै ध्यानाकर्षण गराएको हो।
गत सोमवार लघुवित्त पीडितहरूको एक समूह संसद भवन परिसर पसेर नाराबाजी गरेसँगै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
सम्बन्धित समाचार : संसद् भवनमै प्रवेश गरे लघुवित्त पीडित
हाल उनीहरूलाई सरकारले प्रहरी नियन्त्रणमै राखेर मुद्दा चलाउने तयारी गरेको छ।
सम्बन्धित समाचार : संसद छिर्ने लघुवित्तका पीडितलाई सात दिन हिरासतमा राखिने
एमालेले लघुवित्त पीडितहरूलाई मुद्दा चलाउनु बेठिक हुने भन्दै उनीहरूलाई बिना शर्त रिहा गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले सचेतक महेश बर्तौलाले लघुवित्त पीडितहरू न्यायको लागि आन्दोलनरत रहेका बताए। उनीहरू सुरक्षा संयन्त्रका कमजोरीका कारण संसद भवनभित्र प्रवेश गरेकाले मुद्दा चलाउन नहुने बर्तौलाको भनाई छ।
दोषी देखिने सुरक्षा संयन्त्रका व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने उनले बताए। त्यस्तै संसद भवन परिसर र सिंहदरवार परिसरमा बार लगाएर निषेधित क्षेत्र तोकिएकोप्रति पनि एमालेले असन्तुष्टि व्यक्त गरेको छ। सुरक्षा संयन्त्रलाई बलियो बनाउँदै ती स्थानहरूको तारबार हटाउन पनि गृहमन्त्रीलाई आग्रह गरिएको समेतक बर्तौलाले बताए।
एमालेले मिटरब्याज पीडितहरू हिँडेरै काठमाडौँसम्म आन्दोलनका लागि आएका भन्दै उनीहरूको माग सम्बोधन गर्ने सुनिश्चितताका साथ घर फर्काउने वातावरण बनाउन पनि माग गरिएको छ।
सम्बन्धित समाचार : संसद भवनमा मिटरब्याज पीडित प्रवेशको घटनाबारे अनुसन्धान गर्न समिति गठन
सम्बन्धित समाचार : खोसियो संसद् भवनमा खटिएका इन्स्पेक्टरसहित ३२ सुरक्षाकर्मीको जिम्मेवारी