तनावका बिच सम्पन्न हरिपुर्वाको नगर सभाले ल्यायो ६४ करोड ६८ लाखको बजेट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तनावका बिच सम्पन्न हरिपुर्वाको नगर सभाले ल्यायो ६४ करोड ६८ लाखको बजेट


१३ फाल्गुन २०८०, आइतबार


सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकाको नगर सभा सात महिना ढिलो गरी बहुमतका आधारमा सम्पन्न भएको छ । तनावका बिच सम्पन्न नगर सभाले चालू आर्थिक वर्ष २०८०/०८१ का लागि करिब ६४ करोड ६८ लाख रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।

नगर सभाका सबै सदस्य सहमतिमा नआएका कारण बहुमत सदस्यको उपस्थितिमा नगर सभा सम्पन्न गरिएको नगरप्रमुख विनोद कुमार साह तेलीले जानकारी दिए । नगरप्रमुख साहले कार्यपालिकाबाट सहमति जुटाई नगर सभा गर्न पटक–पटक प्रयास गरे पनि सफल नभएपछि बाध्य भई बहुमतबाट निर्णय लिनु परेको बताए । सोमबार सम्पन्न नगर सभाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको साहले जानकारी दिए ।

राजनीतिक दाउपेच र प्रमुख प्रशासकीय अधिकृतको अभावमा हरिपुर्वामा नगर सभा हुन सकेको थिएन । समयमा नगर सभा हुन नसक्दा विकास निर्माणका काम ठप्प छन् भने साउन महिनादेखि तलब, भत्ता निकासा हुन सकेको छैन ।

‘अहिलेसम्म ८/९ वटा प्रमुख प्रशासकीय अधिकृत फेर्‍यो’, नगरप्रमुख साहले, ‘हरिपुर्वाबाट अन्यत्र सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले तत्काल रमाना नलिइसकेकाले उहाँलाई नै प्रमुख प्रशासकीय अधिकृतको रूपमा राखेर नगर सभा सम्पन्न गरिएको हो ।’ यादवले नगर सभा गराइदिन्छु भनेका कारण आफूले नगर सभा सम्पन्न गराएको उनले बताए ।

नगरपालिका कार्यालयमै भएको नगर सभामा जनप्रतिनिधिबिच विवाद भएपछि तनावको स्थिति बनेको थियो । असन्तुष्ट जनप्रतिनिधिले कुर्सीलगायतका सामग्री तोडफोड गरेका थिए । नगर उपप्रमुख सुमित्रा देवी ग्वारनीसहित केही जनप्रतिनिधि असन्तुष्ट छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस