रेशम चौधरीको पार्टी सदस्यतामा प्रश्न उठाउँदै निर्वाचन आयोगले पठायो पत्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रेशम चौधरीको पार्टी सदस्यतामा प्रश्न उठाउँदै निर्वाचन आयोगले पठायो पत्र


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रेशम चौधरीको सदस्यतामा नै प्रश्न उठाएको छ । आयोगले नाउपालाई पत्र पठाउँदै चौधरीले पार्टी सदस्यता लिएको मितिका बारेमा जानकारी मागेको हो ।

गत माघ २९ गते नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी पार्टी अध्यक्ष भएकोसहितको दलको विवरण अद्यावधिकका लागि निर्वाचन आयोगका निवेदन दिएको थियो ।

यससम्बन्धीमा थप स्पष्टताका लागि भन्दै निर्वाचन आयोगले शुक्रबार नाउपालाई पठाएको पत्रमा प्रश्न गरिएको छ, ‘रेशम लाल चौधरीले नागरिक उन्मुक्ति पार्टीको सदस्यता के कुन मितिमा लिएका हुन ?’

पत्रमा नाउपाको विधानअनुसार उक्त पार्टीको पदाधिकारी हुन कम्तिमा एक कार्यकाल केन्द्रीय समितिमा रहेको हुनुपर्ने व्यवस्थाको समेत स्मरण गराइएको छ ।

नागरिक उन्मुक्ति पार्टीको अन्तरिम विधान २०७८ को धारा १५ मा पदाधिकारी हुन कम्तिमा एक कार्यकाल केन्द्रीय कमिटीको सदस्य भएको हुनुपर्नेछ भन्ने व्यवस्था छ । यही व्यवस्था सम्झाउँदै निर्वाचन आयोगले सोधेको छ, ‘रेशम लाल चौधरीलाई पदाधिकारी बनाएको देखिएको हुँदा उक्त विषय विधान सम्मत हो होइन ?’

रेशम चौधरी नाउपाको अध्यक्ष विधान सम्मत भएको हो भने उनी कहिले केन्द्रीय कमिटीमा थिए भनी खुलाउन आयोगले भनेको छ, ‘निज (रेशम लाल चौधरी) केन्द्रीय समितिमा कहिले र कुन कार्यकाल केन्द्रीय कमिटीमा रहेका थिए ? सो विवरण खुल्ने कागजात के छन ? त्यसका आधार र कारण के के रहेका छन ?’

२७ पुस २०८० मा नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चौधरी सर्वसम्मत चयन भएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस