तर्क र तथ्यसहित कोही आए पार्टी नेतृत्वमा बसिराख्ने लोभ छैन : ‘प्रचण्ड’ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

तर्क र तथ्यसहित कोही आए पार्टी नेतृत्वमा बसिराख्ने लोभ छैन : ‘प्रचण्ड’


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबैलाई एकताबद्ध हुनका लागि आह्वान गरेका छन् । सबै पार्टीहरू एकताबद्ध भई आएमा आफूलाई पार्टी नेतृत्वमा बसिराख्ने लोभ नभएको पनि बताएका छन् ।

काठमाडौँमा आयोजित माओवादीको विधान सम्मेलनलाई सम्बोधन गर्दै दाहालले तर्क र तथ्यसहित पार्टी नेतृत्वमा दाबी गर्न कोही नेता आएमा आफूले छोड्न तयार रहेको बताएका हुन् ।

‘नयाँ क्रान्तितिर देशलाई लैजाने संकल्प गरेको छु । कोही कमरेडहरू आउनुहुन्छ र तर्कसहित, तथ्यसहित भन्नुहुन्छ भने मलाई फेरि नेतृत्वमा बसिराख्ने कुनै लोभ छैन, यो कुरा पनि म प्रष्ट भन्न चाहन्छु, ‘उनले भने, ‘आउनुस्, फेरि यो मोर्चालाई एकताबद्ध गरौँ । प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीले टाउको उठाउन खोजेका छन्, तिनको प्रतिवाद गरौँ, सबै एक हौँ ।’

पछिल्लो समय विचार मिल्ने पार्टीहरूबीच समाजवादी मोर्चा गठन भएको र त्यसै अवसरमा विगतमा माओवादीले संचालन गरेको जनयुद्धमा सहभागी सबैलाई एकताबद्ध हुन दाहालले आग्रह गरेका हुन् ।

विगतमा गरेका गल्तीको समीक्षा गर्दै राजनीतिक परिवर्तनको रक्षा गर्न र समाजवादी आन्दोलनमा अगाडि बढ्न पनि एकताबद्ध हुनुपर्ने दाहालको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस