बाँके प्रशासनद्वारा बजार अनुगमनलाई तीव्रता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बाँके प्रशासनद्वारा बजार अनुगमनलाई तीव्रता


२८ माघ २०८०, आइतबार


बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले बजार अनुगमनलाई तीव्रता दिएको छ । कार्यालयको नेतृत्वमा वाणिज्य कार्यालय समेतको सहभागितामा छवटा पसल-फर्महरूमा अनुगमन भएको छ ।

अनुगमनका क्रममा कैफियत पाइएका चार वटा पसल-फर्महरूलाई कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेले जनाकारी दिए । उनका अनुसार पोरेवाल किराना पसल, चियर्स ग्यालेक्सी, मालिका कम्युनिकेसन र बालाजी ग्लास हाउस एन्ड अर्डर सप्लायर्स कारबाहीमा परेका हुन् । म्याद गुज्रिएका सामान, बिल-बिजक बिना कारोबार गरेको पाइएकोले उनीहरूलाई कारबाही गरिएको हो ।

यसै गरी जिल्ला प्रशासन कार्यालय बाँके र औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जको संयुक्त अनुगमनमा कोहलपुर नगरपालिका क्षेत्रका औषधि पसलहरूमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा जेम्स फार्मेसीमा रहेका केही औषधि दर्ता भए नभएको बारे परीक्षणका लागि औषधि व्यवस्था कार्यालय पठाइएको छ ।

यसै गरी कौशल्या मेमोरियल हस्पिटल प्रा.लि. (फर्मा डिभिजन)ले केही औषधि भारतबाट सिधै खरिद गरेर ल्याएको पाइएपछि अनुगमन टोलीले जफत गरेको छ । पानस फर्मास्युटिकल प्रा.लि. नेपालगन्जलाई म्याद समाप्त भएपछि बजारबाट फिर्ता भएका औषधि राख्न पर्याप्त ठाउँ बनाउन र औषधि नष्ट गर्ने स्थानमा समेत सुधार गर्न निर्देशन दिएका प्रजिअ पोखरेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस