विदेश जाने जनशक्ति दक्ष भए अझै रेमिट्यान्स भित्रिन्छ : चन्द्र ढकाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विदेश जाने जनशक्ति दक्ष भए अझै रेमिट्यान्स भित्रिन्छ : चन्द्र ढकाल


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अदक्ष कामदार मात्रै वैदेशिक रोजगारमा जानु पर्छ भन्ने भाष्य बनेको बताएका छन् । वैदेशिक रोजगारीमा पठाउनै पर्ने भएमा दक्ष जनशक्ति पठाउन सकेको खण्डमा अहिलेको तुलनामाभन्दा धेरै ठूलो मात्रामा रेमिट्यान्स भित्र्याउने सम्भावना रहेको उनको भनाइ छ ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सरकारले औद्योगिक र व्यावसायिक गतिविधिलाई प्रवर्धन गर्नुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जालमा व्यवसायीप्रति गरिने टिप्पणीले कहिलेकाहीँ आफूलाई नेपालमा ‘व्यापार व्यवसाय बढ्नु बढाउन अभिशाप हो कि !’ जस्तो लाग्ने गरेको पनि उनले बताएका छन् । खाडी मुलुक अदक्ष मात्र नभई दक्ष कामदारको पनि गन्तव्य बन्दै गएको उनको भनाइ छ ।

‘वैदेशिक रोजगार भनेको अदक्ष कामदारको लागि मात्र रहेको भाष्य बनेको छ, त्यस्तो होइन,’ उनले भने, ‘अमेरिकाको मान्छे पनि कतारमा काम गर्छ । अमेरिकामा भन्दा राम्रो तलब कतारमा हुन्छ । अवसर लिनका लागि विकसित देशबाट विकासोन्मुख देशमा पनि गएको छ ।’ दक्ष जनशक्ति उत्पादन गर्न स्वदेशमै तालिम दिने संघसंस्था खोल्नु पर्ने उनको भनाइ छ । स्वदेशी उद्योगमा दक्ष कामदारको अभाव भइरहँदा अर्कोतिर बेरोजगारी भएकै कारण वैदेशिक रोजगारमा समेत जान बाध्य भइरहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस