कर्मचारीको क्षमतामा प्रश्न उठे जुनसुकै बेला सरुवा गर्ने अर्थमन्त्रीको चेतावनी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कर्मचारीको क्षमतामा प्रश्न उठे जुनसुकै बेला सरुवा गर्ने अर्थमन्त्रीको चेतावनी


२४ माघ २०८०, बुधबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले क्षमतामा प्रश्न उठे जुनसुकै बेला सरुवा हुने चेतावनी कर्मचारीलाई दिएका छन् । बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री महतले यस्तो चेतावनी दिएका हुन् ।

‘कार्यरत कर्मचारी एक वर्ष नभई सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन, क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ,’ मन्त्री डा. महतले भने, ‘यद्यपि कर्मचारीलाई मैले अविश्वास गर्न खोजेको होइन ।’

अर्थमन्त्री डा. महतले कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिए । काम गर्न नसके ठाउँ छाड्नु पर्ने समेत उनको चेतावनी छ ।

‘प्राप्त जिम्मेवारी र राज्यले दिएको तलबभत्ताबाट सन्तुष्ट हुनुपर्छ, मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने उसले त्यो ठाउँ छोड्नुपर्छ । जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन,’ उनले भने ।

उनले भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सर्तकताका साथ निरन्तर खबरदारी गर्न समेत निर्देशन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस