९ जना अध्यागमन अधिकृतसहित २२ विरुद्ध कीर्ते र सङ्गठित अपराधमा मुद्दा दायर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

९ जना अध्यागमन अधिकृतसहित २२ विरुद्ध कीर्ते र सङ्गठित अपराधमा मुद्दा दायर


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । नौ जना अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र सङ्गठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले भिजिट भिसा प्रकरणमा संलग्नमध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेस गरेको थियो ।

प्रतिवेदनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत अध्यागमन अधिकृतहरू नरवीर खड्का, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकाश डङ्गोल, पीताम्बर रिमाल, सुजन फागो र तारा बहादुर कुँवर(हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना तथा समन्वय शाखामा कार्यरत) लाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न प्रतिवेदन दिएको थियो ।

भिजिट भिसामार्फत पठाएबापत दुई लाख रुपैयाँ बुझिसकेको अवस्थामा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काबाहेक अन्य अध्यागमन अधिकृतहरू फरार रहेका छन् । खड्काकै बयानका आधारमा अन्य अध्यागमन अधिकृतहरूलेसमेत भिजिट भिसा सेटिङमा कमिसन लिने गरेको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।

अधिकृतहरूसँगै मुद्दा दायर भएका अन्य व्यक्तिहरूमा नक्कली कागजात तयार पार्ने र अध्यागमनमा सेटिङ मिलाउने चितवन खैरहनीकी गीता शाह र काठमाडौँ तीनकुनेका अरुण दाहाल, अध्यागमनमा सेटिङ मिलाउनेहरू मिर्चौया सिरहाका सरोजकुमार यादव, दोरम्बा ७, रामेछापका पदम लामा, पाँचखाल ५, काभ्रेपलाञ्चोकका मनोज तामाङ, चापाकोट नगरपालिका १, स्याङ्जाका रामप्रसाद भण्डारी, सत्यवती ७, गुल्मीका दिनेश ज्ञवाली, वालिङ ५, स्याङ्जाका रविन अर्याल, पथरी शनिश्चरे ७, मोरङका विनोद कार्की, धर्मदेवी नगरपालिका, सङ्खुवासभा स्थायी ठेगाना भई हाल कामनपा ९ सिनामंगलस्थित होटेल बाल्टिक ईन होटेलका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का, सिमरा १५ बाराका कौशिला मगर, माहात्या दुधकोशी ४, सोलुखुम्बुकी लक्ष्मी राई र कमलामाई ५, सिन्धुलीकी रिता दमाईं रहेका छन् ।

प्रतिवादीहरूलाई लिखत किर्तेको कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना तथा सङ्गठित अपराधमा लिखत कीर्ते कसुरको आधारमा सजाय गरी साढे १० वर्ष कैद सजाय र १ लाख ५ हजार जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस