सामाजिक सञ्जाल सम्बन्धी गुनासो अब अनलाइनबाटै गर्न सकिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सामाजिक सञ्जाल सम्बन्धी गुनासो अब अनलाइनबाटै गर्न सकिने


७ माघ २०८०, आइतबार


काठमाडौँ । सरकारले सामाजिक सञ्जाल सम्बन्धी गुनासो अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा रहेको पोर्टलबाट सामाजिक सञ्जाल सम्बन्धी गुनासो गर्न सक्ने व्यवस्था मिलाइएको हो ।

मन्त्रालयको वेबसाइटमा रहेको सामाजिक सञ्जाल गुनासो दर्ता लिङ्कमा गएर सामाजिक सञ्जाल सम्बन्धी गुनासोको विवरणहरू प्रविष्ट गर्न सकिने मन्त्रालयका सूचना अधिकारी रमेश पाण्डेयले जानकारी दिए । सरकारले जारी गरेको सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका अनुसार बनेको सामाजिक सञ्जाल व्यवस्थापन इकाइले अनलाइन मार्फत आएको गुनासोहरूको सम्बोधन गर्ने छ ।

सामाजिक सञ्जाल सम्बन्धी गुनासो सम्बोधनका लागि आइतबारबाट यो सेवा सुरु भएको हो । गुनासो दर्ताका लागि सबै मन्त्रालयमा आउन सम्भव नहुने भएकाले अनलाइनबाटै गुनासो गर्न सकिने व्यवस्था मिलाइएको हो ।

गुनासो गर्ने व्यक्तिले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, गुनासो गर्ने सामाजिक सञ्जाल, इमेल ठेगाना, यसअघि गुनासो गरेको भए त्यसको विवरण, गुनासोलाई पुष्टि गर्ने कागजातहरू राख्नु पर्ने छ । मन्त्रालयको वेबसाइट मार्फत प्राप्त भएका गुनासोहरू सामाजिक सञ्जाल व्यवस्थापन इकाइले सम्बन्धित निकायमा पठाउने इकाइका संयोजक समेत रहेका पाण्डेयले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस