अर्थमन्त्री डा. महतले दिए लगानी सम्मेलनमा निम्तो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अर्थमन्त्री डा. महतले दिए लगानी सम्मेलनमा निम्तो


२५ पुस २०८०, बुधबार


गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुन भारत र अन्य देशका लगानीकर्तालाई निम्तो दिएका छन् ।

भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्र प्रमुख, मन्त्रीहरू र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री डा.महतले निम्तो दिएका हुन् ।

त्यस क्रममा मन्त्री डा. महतले भने,‘नेपालमा वैशाख १६ र १७ गते लगानी सम्मेलन हुँदैछ । यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानीकर्ताहरूलाई पनि निम्तो गर्छु । तपाईँहरूको इनोभेटिभ बिजनेस आईडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ माइल स्टोन खोल्नेछ भन्ने आशा गर्दछु । ’उनले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र आइटीमा लगानीको ठूलो अवसर रहेको बताउँदै स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैंकिङ र वित्तीय सेवा जस्ता लगानीका अन्य सम्भावित क्षेत्रहरू पनि रहेको जानकारी गराए । ‘दिगो र समावेशी वृद्धिलाई प्रवर्द्धन गर्नका लागि व्यावसायिक सञ्जाल, ज्ञान आदानप्रदान र रणनीतिक साझेदारीका लागि यो विश्वव्यापी फोरम अब सबैका लागि एउटा फोरम भएको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २००३ मा परिकल्पना गरेको भाइब्रेन्ट गुजरात अवधारणाको प्रशंसा गर्दै उनले भने, ‘राष्ट्रव्यापी रूपमा अनुशरण भइरहेको भाइब्रेन्ट गुजरात विकास मोडल यो समयको आर्थिक, सामाजिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न वित्तीय स्रोत र प्राविधिक ज्ञानको व्यवस्थापन गर्न नेपाललगायत धेरै देशहरूका लागि प्रेरणाको स्रोत भएको छ ।’

‘सन् २०१४ मा नेपालको संसदमा मोदीजी भन्नुभएको कुराको ताजा सम्झना छ, मन्त्री डा. महतले भने, ‘विशेष गरी, तपाईँले ‘हिट’ मा जोड दिनुभएको थियो, त्यो हो हाइवे, इन्फर्मेसन र ट्रान्समिसन लाइन । हामी यी सबै क्षेत्रमा कनेक्टिभिटी सुधार गर्न, बजार सम्बन्धलाई बलियो बनाउन र लेनदेन लागत घटाउन सँगै काम गरिरहेका छौँ भन्ने कुरा राख्न पाउँदा मलाई खुशी लागेको छ ।’

‘हालै नेपाल र भारतबीच १० वर्षको अवधिमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको छ । यसले नेपालमा जलविद्युतमा लगानीको ठूलो अवसर खोल्नेछ । यसले नेपालमा मात्र नभई भारतमा पनि हरित ऊर्जा सङ्क्रमण लक्ष्य हासिल गर्न मद्दत गर्नेछ,’मन्त्री डा. महतले भने । नेपालमा वैशाख १६ र १७ गते लगानी सम्मेलन आयोजना हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस