रामबहादुर बम्जनलाई सर्लाही अदालतमा हाजिर गराइने « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

रामबहादुर बम्जनलाई सर्लाही अदालतमा हाजिर गराइने


२५ पुस २०८०, बुधबार


 काठमाडौँ । अनुयायी बेपत्ता पारेको आरोप लागेका तपश्वी रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक अधिकृतका अनुसार, जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले त्यहाँ हाजिर गराउने तयारी गरिएको हो ।

ब्यूरोले मंगलबार साँझ बम्जनलाई बुढानीलकण्ठको हात्तिगौंडास्थित उनको निवासबाट पक्राउ गरेको थियो । बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले २०७५ सालको १८ पुसमा किटानी जाहेरी दिएकी थिइन् ।

जोहरीमा उल्लेख भएअनुसार रिता बाराको हलखोरियास्थित बम्जनको आश्रममा बसेकी थिइन् । पछि २०६६ सालमा गढीमाई मेलामा गएपछि उनी बेपत्ता थिइन् । यसैबीच बम्जनको घरमा छापा मारेर प्रहरीले विभिन्न १६ देशका मुद्रासहित कम्तिमा ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ ।

सीआईबीका अनुसार बुढानीलकण्ठको हात्तिगौंडास्थित उनी बसिरहेको घरमा छापा मारेर प्रहरीले विभिन्न मुलुकका मुद्रा बरामद गरेको हो । ब्यूरोका एक अधिकृतका अनुसार बम्जनको घरबाट अमेरिकन डलर, थाई, क्यानडियन लगायतका मुद्रा बरामद भएका छन् ।

प्रहरीले बोम्जनको घरबाट कम्तिमा २० वटा मोबाइल, दुई वटा ल्यापटप र १५ वटा पेनड्राइभ पनि बरामद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस