बीपीको पालामा जस्तो नैतिक धरातल अहिलेको काँग्रेसजनमा छैन : डा. यादव « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बीपीको पालामा जस्तो नैतिक धरातल अहिलेको काँग्रेसजनमा छैन : डा. यादव


२१ पुस २०८०, शनिबार


काठमाडौँ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले बीपी कोइरालाको पालाको राजनीतिक परिवेशलाई जोडेर अहिले देशमा केही भएन भनेर मूल्यांकन गर्नु उचित नभएको बताएका छन् ।

देशमा दुई वटा संविधान सभाबाट जारी भएको नेपालको संविधानपछि पनि जनताको अवस्थामा देखिने गरी सुधार नहुनु चिन्ताको विषय भएको उनको भनाइ थियो । बीपीले लिएको गाउँ जोड्ने नीतिलाई मनन् गर्नुपर्ने धारणा राख्दै यादवले पछाडि फर्किने भन्दा बीपी, समाज, राजनीति र अहिलेको व्यवस्थाको अध्ययन गरी गम्भीर भएर अगाडी बढ्नुपर्ने सुझाए ।

बीपी विचार राष्ट्रिय समाजले प्रकाशनमा ल्याएको ‘बीपीवाद’ पुस्तकको शनिबार काठमाडौँमा लोकार्पण गर्दै यादवले बीपीको विचार अजर र अमर रहेको उल्लेख गर्दै बीपीको पालामा जस्तो नेपाली काँग्रेसको दर्शन, विचार र नैतिक धरातल अहिलेको काँग्रेसजनमा नभएको उनको भनाइ थियो ।

‘गौरव गर्छु कि म त्यो (काँग्रेस) संस्थामा छैन । त्यो संस्थाबाट म देशको राष्ट्रपतिसम्म भएँ । त्यो संस्थाको दर्शन बीपीले दिनुभएको थियो र बीपीका जो सहयात्रीहरू थिए–गणेशमानजी, कृष्णप्रसादजी, गिरिजाप्रसाद कोइरालालगायतको नैतिक धरातल अहिलेको काँग्रेसीमा खोज्यौँ भने हामी आफैँ बुझिहाल्छौँ,’ डा.यादवले भने । बीपीको फिजिसिएन बनेर काम गरेको स्मरण गर्दै डा.यादवले अब नेपालीहरूमा पछाडि फर्किएर हेर्ने समय नभएको उल्लेख गरे । ‘हामीले बीपीको, लोकतन्त्रको अध्ययन गरेका छौँ । क्षेत्रीय र संसारको राजनीतिको अध्ययन गरौँ । समाज परिवर्तनको इतिहास पढौँ र जहाँसम्म आइसकेका छौँ त्यो भन्दा अगाडि बढ्नको लागि हामीले बाटो खोजौँ । पछाडि फर्केर हेर्ने हाम्रो समय छैन ।’

तीन करोड नेपालीको र राष्ट्रको अस्तित्व जोगाउन साथै देशको अर्थतन्त्र मजबुद बनाउन गम्भीर भएर लाग्नुपर्ने उनको विचार थियो । उनले देशमा रोजगारी नपाएर विदेशिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए । ‘आज लाखौँ युवाहरू बाहिर गइरहेका छन् । बीपीले ‘यो गाउँको देश हो र गाउँलाई बनाउनुपर्छ’ भनेर विस्तृत खाका दिनुभएको थियो । त्यसलाई विकाससँग जोडेको भए सायद आज यस्तो स्थिती आउने थिएन । यतातिर विद्धान र सरकारको ध्यान जाओस्’, डा.यादवको आग्रह थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस