२ सय जनाभन्दा धेरै नेपाली रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक : प्रधानमन्त्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२ सय जनाभन्दा धेरै नेपाली रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक : प्रधानमन्त्री


२७ मंसिर २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ सय जनाभन्दा धेरै नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक रहेको बताएका छन् । रुसी सेनामा भर्ना भएका ती नेपाली युवालाई सकुशल फिर्ता गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ छ ।

आज बुधवार काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्रीले विभिन्न बाध्यताका कारण दुई सय जनाभन्दा धेरै नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर पाएको र यो चिन्ताजनक भएको बताए । उनले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खान बाध्य भएको बताए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर रहेका र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशरहितको पनि काम गर्न सकिने उल्लेख गरे ।

आज दीक्षित हुने सम्पूर्ण विद्यार्थीलाई पनि उनले ज्ञान र सीपलाई देश र मानव हितमा लगाउन आग्रह गरे । साथै विदेश गएका विज्ञ एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न उनको अनुरोध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस