बैंकका कर्मचारीमाथि धरपकडको निन्दा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूका छाता संस्थाहरूले बैंक र बैंक सम्बद्ध कर्मचारीमाथि भएको आक्रमणको निन्दा गरेको छ ।

बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स सङ्घ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था सङ्घले मङ्गलवार झापाको बिर्तामोडमा एक बैंकका कर्मचारीमाथि भएको धरपकडको निन्दा गरेका हुन् ।

मङ्गलवार झापाको एक बैंकमा कार्यरत कर्मचारीलाई ऋण नदिएको भन्दै केही व्यक्तिले उठाएर प्रहरी चौकी पुर्‍याएका थिए । सोही घटनाप्रति लक्षित गर्दै तीन संस्थाहरूले पछिल्लो समय केही व्यक्ति-समूहहरुले बैंक तथा वित्तीय संस्थाहरूका कर्मचारीहरू लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको, अराजक व्यवहार देखाएको र आक्रमण गरिएको जनाइएको छ ।

‘झापा बिर्तामोडस्थित एक वाणिज्य बैंकको शाखामा कार्यरत एक कर्मचारीमाथि भएको धरपकडप्रति हाम्रो घोर आपत्ति रहेको र घटनामा संलग्न दोषीहरूलाई कारवाहीको माग गर्दछौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

आफ्ना ग्राहकहरूलाई सेवा-सुविधा प्रदान गर्न भूकम्प, कोभिडलगायत विषम परिस्थितिमा समेत अग्रपङ्क्तिमा खटिएर काम गर्ने कर्मचारीहरूमाथि यस प्रकारको दुर्व्यवहार हुनु निन्दनीय भएको बैंक र वित्तीय संस्थाका छाता संस्थाहरूको भनाइ छ । वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीले भयरहित काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति गराउन र दोषीलाई कारवाहीको दायरामा ल्याउन उनीहरूले माग गरेका छन् ।

‘बैंकिङ जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतङ्कित बनेको हुँदा यस्ता गैर जिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानुन आफ्नो हातमा लिई भइरहेका अराजक घटनालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरूसँग अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस