संसद् चलाउन बजेट र कर्मचारीहरूलाई अतिरिक्त सुविधा नदिएको सभामुखको गुनासो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसद् चलाउन बजेट र कर्मचारीहरूलाई अतिरिक्त सुविधा नदिएको सभामुखको गुनासो


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद् र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताएका छन्।

सोमबार संसदीय समितिका सभापतिहरूसँग समितिको कामकारबाहीलाई अघि बढाउनेबारेमा सिंहदरवारमा छलफल गर्दै उनले यस्तो बताएका हुन्। उनले संसद् र संसदीय समितिको बैठक कार्यालय समयमै राख्न अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेको बताए।

उनले नियमित समयबाहेक बैठक राख्दा कर्मचारीहरूलाई अतिरिक्त सुविधा नदिएको गुनासो कर्मचारीहरूले गरेको बताए। उनले विगतमा संसद्लाई विभिन्न विदेशी एवं दातृ निकायहरूबाट सहयोग प्राप्त हुने भए पनि पछिल्लो समय सहयोग घट्दै गएको र कतिपय सहयोग नेपालका लागि उपयुक्त नभएकाले पनि कम बन्दै गएको उल्लेख गरे।

उनले संसदीय गतिविधि अघि बढाउन आर्थिक पाटोलाई अर्थमन्त्री डा. महतले नियन्त्रण गरेको गुनासो गरे। बजेटको अभावमा सभा प्रभावकारी हुन नसकेको र सरकारले संसद्लाई चलायमान र प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए।

सभामुख घिमिरेले विगतका बैठकमा कर्मचारीहरूलाई अतिरिक्त समयको भत्ता दिन नसकेको भन्दै यसलाई व्यवस्थित नगर्ने हो भने संसद् र संसदीय समिति चल्न कठिन रहेको बताए।

उनले भने,’अहिले गएर हाम्रो बाध्यता के छ भने अफिस टाइमभन्दा फरक टाइममा संसद् नचलाइकन काम चलाउनुपर्छ है भन्ने अर्थ मन्त्रालय र अर्थमन्त्रीको स्पष्ट आग्रह छ। आग्रह मात्रै होइन, यो त नियन्त्रण नै छ।’

Tags :
प्रतिक्रिया दिनुहोस