सरकारले गरिब, विपन्न र असहाय नागरिकको निःशुल्क उपचार गर्छ : प्रधानमन्त्री « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सरकारले गरिब, विपन्न र असहाय नागरिकको निःशुल्क उपचार गर्छ : प्रधानमन्त्री


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको बताएका छन् ।

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ कलेज) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै आफ्नो नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले भने, ‘गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० शैय्या निःशुल्क उपलब्ध गराइएको छ । पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरुद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ । सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शैय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ ।’

सरकारको कामले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवं सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्ने बताए ।

उनले भने, ‘नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ, यो निकै ठूलो मेहेनत र सङ्घर्षको प्रतिफल हो । उक्त व्यवस्थामा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था छ ।’

संविधानको व्यवस्थाअनुरूप आम्दा लगायतका निजी स्वास्थ्य संस्थाहरूले पनि सकारात्मक योगदान गर्ने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस