काठमाडौँ । धनकुटाको महालक्ष्मी नगरपालिकाका अधिकृत स्तर सातौँको जिम्मेवारी खोसिएको छ । कार्यालयका कामकारबाहीहरू पारदर्शी हुनुपर्छ भनेर आवाज उठाउँदै आएका अधिकृत स्तर सातौँका खगेन्द्र नेपाललाई नगर प्रमुख ध्रुवराज राया र प्रमुख प्रशासकीय अधिकृत नीलकण्ठ विश्वकर्माले जिम्मेवारी खोसेका हुन् ।
अनियमितताबारे अख्तियारले पठाएको पत्रको जवाफ पठाउन आफू प्रशासनमा हुँदा कागजपत्र फेरेर काम गराउन अफ्ठेरो हुने भएकोले शाखा परिवर्तन गरेको नेपालको भनाई छ । ‘अख्तियारले मागेको विवरण योजनासँग जोडिन्छ, लेखासँग जोडिन्छ, शिक्षासँग जोडिन्छ,’ उनले भने, ‘सबै कागजपत्र फेरेर प्रमाणित गर्दै प्रशासनमार्फत नै जवाफ पठाउने भएकोले म हुँदा उहाँहरूलाई अफ्ठेरो भएर शाखा चेन्ज गरेको हो ।’
२६ वर्षको जागिरे अवधिमा नियम विपरीत काम नगरेको र आफू ट्रेड युनियनकर्मी भए पनि कतिपय विषयहरू चित्त नबुझेपछि त्यसबाटसमेत अलग भएको बताउँदै आफूmले आफ्नो गाउँ ठाउँमा सुशासन प्रवर्द्धन गर्दै जनतालाई सेवा दिने विषयमा सम्झौता गर्न नसक्ने बताए ।
पालिकामा भएको अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा विभिन्न अनियमितताहरू भएको भन्दै परेको उजुरी उपर अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
श्रोतका अनुसार नगरपालिकामा भएका अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले पत्र लेख्दै विवरण पेश गर्न भनेको छ । सडक गुरुयोजना निर्माणको काममा छलफल नै नगरी भुक्तानी गरेको, नगर सभाले पारित गरे विपरीत उपभोक्ता समितिलाई जिम्मेवार बनाइ काम गरेर अनियमितता गरेको र आलुको बिउ खरिदमा अनियमितता गरेको विषयमा अख्तियारले जानकारी माग गरेको छ । त्यसैगरी शिक्षकलाई दिइएको डिजिटल साक्षरता तालिम कार्यक्रममा उपलब्ध गराइएको भन्दा बढी बिल भर्पाई गरेर भुक्तानी गरेको सम्बन्धमा समेत अख्तियारमा उजुरी परेको छ।
अख्तियारले माग्यो कागजपत्र
नगर प्रमुख ध्रुवराज राया, प्रमुख प्रशासकीय अधिकृत नीलकण्ठ विश्वकर्मा, शिक्षा अधिकृत रमेश प्रसाद दाहाल र रोजगार सहायक दिनेश विक्रम थापाविरुद्ध अख्तियारमा उजुरी परेको छ । अख्तियारले महालक्ष्मी नगरपालिकालाई पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृत समेतको मिलेमतोमा नगरपालिकामा प्राप्त भएका विभिन्न शीर्षकमा अनियमितता गरेको भन्ने सम्बन्धमा वास्तविकता के कसो भए गरेको हो ? योजनाहरूमा के कुन शीर्षकबाट के कति बजेट विनियोजन भएको हो ? विभिन्न योजनाहरूका सम्बन्धमा निर्माणसँग सम्बन्धित विषयमा उपभोक्ता समिति ÷ निर्माण समितिको गठन प्रक्रिया, सम्झौता, लागत अनुमान, नापी किताब, कार्यक्रम सम्पन्न प्रतिवेदन, योजनाका बिलहरू, रकम पुष्टि हुने गोश्वारा भौचर वा बैङ्क स्टेटमेन्ट, योजनाका हालको फोटोहरू साथै योजनासँग सम्बन्धित कागजातहरू उपलब्ध गराउन भनेको छ ।
कोशी प्रदेश सकारबाट प्राप्त तरकारी प्रवर्द्धन कार्यक्रममा करिब ९ लाख बराबरको आलुको बिउ खरिद गर्दा आर्थिक विकास शाखा प्रमुख र सो अन्तर्गत कृषि पशुपंक्षी तथा सहकारी उप शाखालाई बाइपास गरी अत्यधिक महँगो शुल्कमा स्थानीय बजारबाट खरिद गरी सेटिङमा वडालाई वितरण गरेको, सडक गुरु योजना निर्माणको काम नगरपालिका क्षेत्र भित्र वस्तु स्थिति विश्लेषण र सरोकारवालासँग विस्तृत छलफल नै नगरी भुक्तानी गरेको, ९ औँ नगर सभाले पारित गरेको नीति तथा कार्यक्रम विपरीत नगरपालिका क्षेत्रभित्र १० लाख रुपैयाँ सम्मको योजनाहरूमा ब्याक हो लोडर, स्काभेटर लगायतका भारी उपकरण प्रयोग नगने व्यवस्था विपरीत र १० लाख रुपैयाँ भन्दा बढी लागत अनुमान भएका योजनाहरू बोलपत्र मार्फत सञ्चालन गर्ने नीति विपरीत उपभोक्ता समितिलाई जिम्मेवारी बनाई कार्य गरिएको, नियम भन्दा बाहिर गई रकमान्तर गर्ने, सङ्घ, प्रदेश र स्थानीय निकायको एउटै स्वीकृत वार्षिक योजना कार्यक्रममा प्रमुखले तोक आदेश जोडी कर्मचारीलाई दबाबमा राखी जवर्जस्ती कार्य गराई आर्थिक अनियमितता गरेको सम्बन्धमा कागजात उपलब्ध गराउन भनिएको हो ।
रातमाटे–लहरेवर–माइमाया सडक निर्माण ठेक्का र ३ वटा कोटेसनमा प्रयोग गरिएको कार्यालयको ब्याक हो लोडरको प्रति घण्टाको तोकिएको शुल्क नबुझाएको, महालक्ष्मी नगरपालिका भित्रको माङ्गमाया खोलाको र व्यक्तिको निजी जग्गा भित्रका ढुङ्गा, गिटी, बालुवाहरू प्रयोग गरी नगरपालिका र सम्बन्धित व्यक्तिलाई राजश्व तथा शुल्क नबुझाएको र योजना ठेका अरूको नाममा मिलाई सो को कार्य नगर प्रमुख आफैँले गरेको, कोशी प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०८० को परिच्छेद ३ को व्यवस्था विपरीत सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओ. एन्ड. एम) सम्बन्धी काम परामर्श दाता कार्यालयमा उपस्थित नभई, कुनै पनि छलफल तथा कार्यक्रम नगरी भुक्तानी गरेको, शिक्षकसँग सम्बन्धित डिजिटल साक्षरता तालिम कार्यक्रममा यथार्थ उपलब्ध गराइएको भन्दा बढी बील, भर्पाई बनाई भुक्तानी गरेको, सवारी साधन मर्मतको चालकलाई दबाबमा पारी फर्जी विल ल्याई चालक मार्फत मर्मत खर्च भुक्तानी लिने गरेको, कानुनी सल्लाहकार नियुक्ति गरी कुनै काम नलगाई पारिश्रमिक भुक्तानी गरेको, इन्धन मापदण्ड विपरीत खर्च गरेको, जिन्सी सामग्री ल्याएकोमा स्थानीय बजार भन्दा बाहिरबाट मात्र बजार भाउ भन्दा महँगो खरिद गरेको र कतिपय नल्याई विलमात्र ल्याई भुक्तानी गरेको सम्बन्धमा कागजात उपलब्ध गराउन भनेको हो ।
स्रेस्ता परिवर्तन गरी भुक्तानी
अख्तियारले शिक्षकलाई दिइएको डिजिटल साक्षरता तालिममा सहभागी शिक्षकलाई गत आर्थिक वर्षमा तालिममा सहभागी भए बापत भुक्तानी गरेको विवरण समेत माग गरेको छ । तालिममा सहभागी प्रति शिक्षक २५ सय रुपैयाँ भुक्तानी गरेकोमा अख्तियारले विवरण माग गरेपछि अहिले थप निकासा आयो भन्दै थप ४ हजार रुपैयाँ दिई ६ हजार ५ सय रुपैयाँ छुट्टै भर्पाई बनाई स्रेस्ता परिवर्तन गरी भुक्तानी गरेको पाइएको छ ।
शारदा आधारभूत विद्यालय छुम्लिङका प्रधानाध्यापक रेवती नेपालले असारमा तालिम हुँदा २ हजार ५ सय रुपैयाँ दिएको र अहिले थप ४ हजार रुपैयाँ उपलब्ध गराएको बताए । तर, उनले उक्त रकम कसरी प्राप्त भयो भन्ने बारे भने खुलाउन चाहेनन् । रोजगार संयोजक दिनेश विक्रम थापा अहिले थप निकासा रकम आएको भन्दै विद्यालयहरूमा रकम बाढ्न खटिएको स्रोतले जनायो ।
त्यसैगरी सवारी साधनको मर्मतमा फर्जी बिलको प्रयोग गरेको, कानुनी सल्लाहकार नियुक्ति गरी कुनै काममा नलगाएर भुक्तानी गरेको, इन्धन मापदण्ड विपरीत खर्च गरेको, विभिन्न जिन्सी सामग्री स्थानीय बजारभन्दा बाहिरबाट महँगो मूल्यमा खरिद गरेको, कतिपय सामग्रीको बिल मात्र ल्याएर भुक्तानी गरेको विषयमा समेत अख्तियारमा उजुरी परेको छ ।
नगरपालिकामा अनियमितता भएको विषयमा परेका उजुरीका सम्बन्धमा अख्तियारले सबैको विवरण माग गरेर विस्तृत रूपमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
कर्मचारीद्वारा प्रशासनसँग सुरक्षा माग
उजुरीका सम्बन्धमा अख्तियारले अनुसन्धान अघि बढाएपछि प्रशासन तथा आर्थिक विकास शाखा प्रमुख एवम् सूचना अधिकारी नेपालमाथि दुर्व्यवहार हुनुका साथै जिम्मेवारीसमेत खोसिएको हो ।
नेपालमाथि नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गालीगलौज तथा कुटपिटको प्रयास गरेको बताइएको छ । यसबारे धनकुटाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी समेत गराइएको छ । धम्की आएपछि सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको नेपालले बताए ।
नेपाललाई नगर प्रमुख रायाले अख्तियारमा उजुरी किन दिएको भन्दै धम्की दिएका थिए । नेपालको जिम्मेवारी खोस्नुका साथै उनको कार्यकक्षमा ताला समेत लगाइएको थियो । तनावमा रहेका नेपाल अहिले बिदामा छन् । आफूमाथि अभद्र व्यवहार भएपछि बिदामा बसेको उनले प्रशासनलाई जानकारी दिए । आफूले कागजात नमिलाउने भएकै कारण जिम्मेवारीबाट हटाइएको उनको भनाई छ । तर, यसबारे बुझ्दा नगर प्रमुख ध्रुवराज रायाले आफूले धम्की नदिएको बताए ।
पालिका विरुद्ध अख्तियारमा उजुरी दिने कर्मचारीलाई प्रशासन तथा आर्थिक विकास शाखा प्रमुखको जिम्मेवारी दिन नसकिएको उनको भनाइ छ । ‘राजनीतिक प्रतिशोधका कारण अख्तियारमा उजुरी दिनु भएको हो । पालिकाविरुद्ध उजुरी दिनेलाई कसरी विश्वास गर्ने र जिम्मेवारी दिने ?’ नगर प्रमुख रायाले भने, ‘उजुरी बारे अख्तियारले छानबिन गर्छ । अनुसन्धानबाट अनियमितता भए नभएको थाहा लाग्ने नै छ ।’ नेपालले विगतमा पनि पालिकालाई असहयोग गर्ने गरेको रायाको आरोप छ ।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत नीलकण्ठ विश्वकर्माले पनि कुनै कर्मचारीलाई कुनै प्रकारको धम्की नदिएको बताए । उनले अख्तियारमा विगतदेखि नै उजुरी पर्ने गरेको र अख्तियारलाई जवाफ दिने काम भइरहेको बताए ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नेपालसँग मौखिक रूपमा कुराकानी भएको जानकारी दिए । उनले भने, ‘उहाँसँग मौखिक रूपमा कुराकानी भएको छ । तनावबारे जानकारी गराउनु भएको छ । आवश्यक परे सुरक्षा दिन्छौँ ।’
पछिल्लो समय स्थानीय तहहरूमा अनेक थरी विकृतिहरू बढ्दै गएका छन् । मिल्ने र मिलाउने नाममा भेटिने गरेका अनियमितताहरूको चाङले अख्तियारमा उजुरीको चाङ छ । पछिल्लो तथ्याङ्कले पनि सबैभन्दा धेरै अनियमितता स्थानीय तहमै देखिएको छ ।