१ सचिव, १० सहसचिवसहित २१५ अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१ सचिव, १० सहसचिवसहित २१५ अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा १ सचिव र १० सहसचिवसहित २ सय १५ अधिकृतस्तरका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा एक सचिव, १० सहसचिव, ५८ उपसचिव र एक सय ४६ शाखा अधिकृतलाई प्रतिवादी बनाएर अभियोग पत्र दायर भएको हो ।

सार्वजनिक सम्पत्ति हानी नोक्सानीमा ५ जना सहसचिव, १२ जना उपसचिव र १७ जना शाखा अधिकृतविरुद्ध भ्रष्टाचारको आरोप लागेको छ । यस्तै गैरकानूनी सम्पत्ति आर्जनमा १ सहसचिव, २ उपसचिव र ६ जना शाखा अधिकृतविरुद्ध पनि अभियोग दायर भएको अख्तियार जनाएको छ ।

घुस रिसवतमा १ जना उपसचिव र १३ जना शाखा अधिकृतविरुद्ध अभियोग लागेको अख्तियारले जनाएको छ । गैरकानूनी लाभहानीमा २ जना सहसचिव, ३० जना उपसचिव र ९१ जना शाखा अधिकृतले उक्त अवधिमा मुद्दा खेपेका छन् ।

यस्तै एक सय १० नायब सुब्बा, ३० जना खरिदारविरुद्ध पनि अभियोग दायर भएको छ । त्यसबाहेक निर्वाचित र मनोनीत गरी कूल २०९ जनप्रतिनिधिविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

अख्तियारको तथ्याङ्कमा गत आर्थिक वर्षमा एक सय ६२ वटा मुद्दा दायर भएकामा ६ सय २२ पुरुष, एक सय ३८ महिला र ६ जना संस्था प्रतिवादी बनेका छन् ।

सबैभन्दा बढी गैरकानूनी लाभ वा हानीमा ३ सय ६३ पुरुष र ७६ महिला तथा सार्वजनिक हानी नोक्सानीमा एक सय १४ पुरुष र ३७ महिला प्रतिवादी बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस