वीरगञ्ज महानगरले एकै पटक ७ सय ३८ कर्मचारी बर्खास्त गर्‍यो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

वीरगञ्ज महानगरले एकै पटक ७ सय ३८ कर्मचारी बर्खास्त गर्‍यो


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले एकै पटक ७ सय ३८ जना दैनिक ज्यालादारी र डोर हाजिरीमा काम गर्दै आएका कर्मचारीहरुलाई बर्खास्त गरेको छ । महानगरपालिकाले २६ भदौदेखि लागू हुने गरी विभिन्न पदमा कामकाज गर्दै आएका दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीहरुलाई बर्खास्त गरेको हो । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले कामकाजमा नलगाउने सम्बन्धमा जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा विगतदेखि त्यहाँ वडा कार्यालय/स्वास्थ्य चौकी/केन्द्र/महाशाखा/शाखा/उपशाखा समेतमा विभिन्न मितिदेखि विभिन्न पदमा कामकाज गर्दै आएको (स्थायी र करार कर्मचारी बाहेक) सबै कर्मचारीहरुलाई आजकै मितिदेखि लागू हुने गरी कामकाजमा नलगाउनु हुन अनुरोध छ ।’ सूचनामा अब उप्रान्त त्यस्ता व्यक्तिहरुको डोर हाजिरी प्रमाणित गर्ने पदाधिकारीले आफ्नो निजी श्री सम्पत्तिबाट निज कर्मचारीहरुको तलब भत्ता व्यहोर्नुहुनु समेत अनुरोध गरिएको छ । 

महानगरपालिकाको आवश्यकता र औचित्य भन्दा पनि भागबण्डाका आधारमा गरिएको नियुक्तिबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले छानविन सुरु गरेपछि रातारात कर्मचारी बर्खास्त गरिएको स्रोतले जनायो । महानगरपालिकाको आन्तरिक राजश्वबाट बार्षिक १८ करोड खर्च भएको भन्दै अख्तियार र सतर्कता केन्द्रमा उजुरी परेको थियो ।

नगर प्रहरी, दमकल, सरसफाई, वडा कार्यालय, स्वास्थ्य चौकी, महाशाखा, शाखा, उपशाखासमेतमा काम गर्ने गरी विभिन्न पदमा नियुक्त भएका कर्मचारीहरु एकै पटक बर्खास्त भएपछि महानगरको सेवा प्रभावित भएको छ । वडा नं. १७ का अध्यक्ष सञ्जीव बहादुर क्षेत्रीले पूर्व जानकारी विनै कर्मचारी हटाउँदा सेवा प्रवाहमा समस्या भएको बताए । 

यसबारेमा बुझ्न खोज्दा महानगरपालिकाका प्रमुख राजेश मान सिंह, उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र सूचना अधिकारी अरबिन्द लाल कर्णको मोबाइल अफ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस