संविधान सभाबाट संविधान बन्नुमा सुवास नेम्वाङको अहम् भूमिका : गगन थापा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संविधान सभाबाट संविधान बन्नुमा सुवास नेम्वाङको अहम् भूमिका : गगन थापा


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको अहम् भूमिकाका कारण दोस्रो संविधान सभाबाट संविधान बनेको बताएका छन् ।

आज मङ्गलवार दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरी सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले संविधानसभा अध्यक्ष नेम्वाङको संविधान बनाउने दृढताका कारण नै संविधानसभाबाट संविधान बन्न सकेको बताएका हुन् । उनले नेम्वाङले त्यस बेलाको बाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले भने, ‘सुवासचन्द्र नेम्वाङको दृढताका कारण दोस्रो संविधान सभाबाट संविधान बन्यो । त्यो बेलाको बाह्य दबाबलाई थेग्न सक्ने, चाहिएको बेलामा दृढतापूर्वक उभिनसक्ने त्यो स्वभाव पनि सुवास नेम्वाङसँग रहेछ जुन त्यतिखेर उनले प्रकट गरे । समन्वयकारी क्षमता भएको तर चाहिएको बेलामा दृढ हुन नसक्ने भएको भए सायद त्यतिखेर संविधानसभाले संविधान बनाउन सक्दैन थियो होला र?’

महामन्त्री थापाले नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि उल्लेख गरे। २०६२/०६३ सालको आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरूसँग संवाद गरेर काम गरेको र उनी साझा व्यक्तिको रूपमा स्थापित भएको बताए । नेम्वाङले आफूलाई संसदमा कमी, कमजोरी हटाउन सिकाउने गरेको थापाको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस