गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रधानमन्त्रीको इच्छा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रधानमन्त्रीको इच्छा


२३ भाद्र २०८०, शनिबार


गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने आफ्नो इच्छा रहेको बताएका छन् । 

गोरखाको अजिरकोट गाउँपालिकाले आज भच्चेकमा आयोजना गरेको पालिकाभित्रका जनप्रतिनिधि, राजनीतिक दल तथा नागरिकसँगको अन्तर्क्रियाका क्रममा प्रधानमन्त्री दाहालले चीन सरकारले नेपालमा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रस्ताव गरेको भन्दै उक्त पार्क गोरखामा निर्माण गर्ने इच्छा व्यक्त गरेका छन् ।

“आसन्न चीन भ्रमणका क्रममा नेपालको कृषि क्षेत्रको विकासको सन्दर्भमा पनि छ”, प्रधानमन्त्री दाहालले भने, “एउटा एग्रिकल्चर टेक्निकल पार्क बनाउने प्रस्ताव चीन सरकारको छ, त्यो पार्क कहाँ बनाउनेभन्दा अहिले मेरो निर्णय नै त होइन तर उक्त पार्क गोरखामा नै बनाउने इच्छा छ ।”

एग्रिकल्चर पार्कमा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि, पशुपालन र उद्योग पनि एउटै ठाउँमा केन्द्रित रहने गरी निर्माण गर्ने सोच आफ्नो रहेको उनले बताए । “पर्याप्त जमिन भयो भने गोरखामा मेरो आफ्नै निर्वाचन क्षेत्रमा एउटा ठूलो परियोजना निर्माण गरौँ, जसले हजारौँलाई रोजगारी दिन सकोस र यहाँको जनताको जीवनमा आमूल परिवर्तन ल्याउन सकोस् मेरो त्यतातर्फ ध्यान छ ।” प्रधानमन्त्री दाहालले भने ।

उनले यही कार्यकालमा मुलुकलाई सफल बनाउने गरी आफूले काम गरिरहेको बताए । “व्यवस्था फेरियो तर अवस्था फेरिएन भन्ने ठाउँबाट देशलाई व्यवस्था मात्र होइन अवस्था पनि फेरियो भन्ने ठाउँमा पुर्‍याउने काम अहिलेको पार्टी नेतृत्वबाट सम्भव छ”, प्रधानमन्त्री दाहालले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस