काठमाडौँ । ४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि पेज बन्दको निर्णय लिइएको बुझिएको छ ।
उक्त पेजका सञ्चालक भिक्टर पौडेलले केही बेरअघि फेसबुकमा स्ट्याटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो । पाठकलाई कुनै सूचना दिइएको छैन ।
मेयर साहले महानगरको गाडीलाई सरकारले रोकेको भन्दै सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्ट्याटस लेखेका थिए । त्यसलाई लिएर बालेनको तीव्र आलोचना भएको थियो । भोलिपल्ट बिहानै रुटिन अफ नेपाल बन्दले बालेनको पुत्रीलाभको खबर सार्वजनिक गर्यो । तर, समाचारमा पुत्री लाभ केही दिन पहिल्यै भएको उल्लेख थिएन । बालेनमाथि भइरहेको आलोचनालाई डाइभर्ट गर्न भर्खरै सन्तानलाभ भएको जसरी खबर प्रकाशन गरेको आरोप रुटिनमाथि लागेको थियो । पछि उक्त पेजले आफ्नो स्ट्याटस सच्याएर ‘केही दिनअघि’ भनेर थप्यो ।
स्रोतका अनुसार विवादमा परेपछि रुटिनले अस्थायी रूपमा पेज बन्द गरेको हो ।
