जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु : प्रधानमन्त्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु : प्रधानमन्त्री


१४ भाद्र २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले राम्रो काम गरिरहेको बताएका छन् । उनले सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको पनि बताए ।

समाजवादी मोर्चाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सत्ता टिकाउनका लागि सम्झौता नगरिरहेको बताए ।

सरकार गठनको ८ महिनासम्म राम्रो काम गरिरहेको र राम्रो गर्दागर्दै कसले हटाउँदो रहेछ भनेर हेरिरहेको बताए ।

आफूलाई व्यक्तिगत स्वार्थ केही पनि नरहेको उनको भनाइ थियो । ‘मलाई केही लिनु छैन, केही दिनु छैन । जे छ राष्ट्र र जनताको लागि, क्रान्ति र उपलब्धि रक्षाको लागि हो । यो सरकार कतिसम्म चल्छ मलाई टेन्सन छैन । सरकार टिकाउन यस्तो गर्‍यो र उस्तो गर्‍यो भन्छन् त्यो वाहियात हो,‘उनले भने, ‘राम्रो काम गर्छु । जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु ।’

सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदम नरोकिने र पक्षपात नहुने प्रधानमन्त्री दाहालको भनाइ छ । ‘भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चालिएको छ । यो रोकिने वाला छैन ।’

सबैको साथ, सहयोग र नेपाली जनताको समर्थनमा यो नयाँ अभियान हो । यसले दायाँबायाँ, तेरो मेरो हेर्ने छैन । नेपाली जनताको हितमा समर्पित भएर लाग्नेछ, ‘उनले भने,‘काँग्रेस र एमालेलाई मात्रै हान्छ, आफ्ना नेतालाई छोड्छ भन्ने थियो । त्यो होइन । सीआईबीलाई अनुसन्धान गर्दै जाँदा बाटोमा ‘प्रचण्ड’ देखिन्छ भने पनि नछोड भनेको छु ।’

प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा गठबन्धन सरकार र समाजवादी मोर्चा एक ढिक्का भएर अगाडि बढेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस