इन्डक्सन चुलो फिर्ता गर्दै सांसद र कर्मचारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इन्डक्सन चुलो फिर्ता गर्दै सांसद र कर्मचारी


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । कोशी सरकारले वितरण गरेको विद्युतीय (इन्डक्सन) चुलो प्रदेश सांसदहरूले फिर्ता गर्न थालेका छन् । लक्षित वर्गका लागि विनियोजित बजेटबाट खरिद गरिएको चुलो सांसद र कर्मचारीलाई वितरण गरेको भन्दै चौतर्फी विरोध भएपछि सांसदहरूले फिर्ता गर्न थालेका हुन् ।

काँग्रेसकी प्रदेश सांसद इन्दिरा थापा र एमालेका प्रदेश सांसद लिलाबल्लभ अधिकारीले प्रदेशसभा सचिवालयबाट बुझेर लगेको चुलो फिर्ता गरेका छन् । चौतर्फी विरोध भइरहेकाले बुझेर लगेको चुलो प्रदेशसभा सचिवालयमा फिर्ता गर्ने तयारीमा रहेको प्रदेश सांसदहरुले बताएका छन् ।

प्रदेशसभा सचिवालयका कर्मचारीहरूले प्रदेश सांसदहरूका लागि चुलो आएको भनेर बुझाएको तर तत्कालै यसको विषयमा बुझ्दा लिन नहुने भनेर फिर्ता गरेको बताएका छन् ।

प्रदेश सांसद अधिकारीले प्रदेशसभा सचिवालयका कर्मचारीले सांसदहरूका लागि आएको भनेर बुझेको तर पछि बुझ्दै जाँदा यसको आवश्यकता सांसदभन्दा पनि उपेक्षित, उत्पिडितवर्गलाई भएको महसुस गरेर फिर्ता गरेको बताए ।

प्रदेशसभा सचिवालयको तथ्यांकअनुसार प्रदेश सांसदहरूका लागि आएको ८८ थान चुलोमध्ये सत्तारुढ दल काँग्रेसका १२, सत्तारुढ माओवादीका २ र प्रमुख प्रतिपक्षी एमालेका ६ गरी २१ जनाले बुझेर लगेको र त्यसमध्ये २ जनाले फिर्ता गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस