खानी इन्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

खानी इन्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर


२८ श्रावण २०८०, आइतबार


काठमाडौँ । खानी तथा भूगर्भ विभाग लैनचौर र काठमाडौँ विश्वविद्यालयबीच खानी इन्जिनियरिङ (माइनिङ इन्जिनियरिङ) अध्ययन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा खानी इन्जिनियर विषयमा अध्ययनरत विद्यार्थीको क्षमता अभिवृद्धि, खनिज सम्बन्धी तालिम प्रदान गर्नका लागि विभागबाट भइरहेको कार्यमा सहकार्य गर्नेसम्बन्धी आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा. भोला थापाको उपस्थितिमा विभागको तर्फबाट महानिर्देशक रामप्रसाद घिमिरे र विश्वविद्यालयको तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्रा डा. मनिष पोखरेलबीच हस्ताक्षर भएको हो । 

सम्झौतापत्रमा विभागको तर्फबाट विश्वविद्यालयलाई आवश्यक पर्ने जनशक्ति र प्राविधिक सहयोग उपलब्ध गराउने, विभागमा रहेका पूर्वाधारलाई विद्यार्थीले प्रयोग गर्न सक्ने, भविष्यमा खानी तथा भूगर्भसम्बन्धी अध्ययनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने, विद्यार्थीलाई तालिम तथा गोष्ठी उपलब्ध गराउनेलगायत उल्लेख छ ।

कार्यक्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेले नेपालमै खानी इन्जिनियरिङको पढाइ हुनुपर्छ भन्ने मान्यता रहेको उल्लेख गर्दै सम्झौतापत्रले नेपालको खानी इन्जिनियरिङको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । काठमाडौँ विश्वविद्यालय खानी इन्जिनियरिङमा उत्पादित विद्यार्थीलाई सहयोग गर्न विभाग तयार रहेको उनले बताए ।

सरकारले काठमाडौँ विश्वविद्यालयमा खानी इन्जिनियरिङ अध्ययन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेबारे आवश्यक छलफल गरिरहेको महानिर्देशक घिमिरेले बताए । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा. थापाले विश्वविद्यालयले खानी इन्जिनियरिङको पढाईमा परिणाम आउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले खानी इन्जिनियरिङको पढाईलाई अगाडि बढाउन सरकारको साथ र सहयोग पाएको बताए ।

उपकुपति प्रा डा. थापाले देशको आवश्यकतालाई ख्याल राखेर इन्जिनियरिङ काउन्सिलले स्वीकृति दिएर सराहनीय काम गरेको बताए । कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन प्रा डा. मनिष पोखरेलले देशको आर्थिक विकासमा खनिज क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए । हाल स्नातक तहमा ३० विद्यार्थी खानी इन्जिनियरिङमा अध्ययनरत रहेको विश्वविद्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस