कोशी प्रदेशका १२ जिल्ला डेंगु प्रभावित, ९ जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशी प्रदेशका १२ जिल्ला डेंगु प्रभावित, ९ जनाको मृत्यु


२३ श्रावण २०८०, मंगलबार


धनकुटा । लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् । एक महिनाको अन्तरालमा डेङ्गुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने हालसम्म रोग देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ । सबै मृतक सुनसरी जिल्लाका रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत विवेचना गौतमले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको २१ दिनमा मात्र ती जिल्लामा सात हजार एक सय तीन जनालाई डेङ्गु लागेको छ ।

सबैभन्दा धेरै तराईका जिल्लाहरू प्रभावित भएका छन् जसमा सुनसरी र मोरङ जिल्ला प्रभावित रहेका छन् । सुनसरीमा हालसम्म नौ जनाको मृत्युसहित चार हजार सात सय ४१ जना डेङ्गु सङ्क्रमित भएका छन् ।

त्यस्तै मोरङमा एक हजार एक सय ७१ जना सङ्क्रमित भएका छन् । दुई जनाको मृत्यु भएको भनिए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको अधिकृत गौतमले जानकारी दिए ।

दुई जिल्लापछि झापामा पाँच सय २८ जना सङ्क्रमित रहेका छन् । तराईसँग जोडिएका जिल्लाहरूमा उदयपुर र धनकुटा सबैभन्दा बढी प्रभावित रहेका छन् । उदयपुरमा एक सय ८३ र धनकुटामा एक सय ३७ जनालाई डेङ्गु लागेको छ । त्यसपछि भोजपुरमा ९०, सङ्खुवासभा ८९, तेह्रथुममा ६७, इलाम ३५, पाँचथर १६, ताप्लेजुङ १२ र खोटाङमा चार जना डेङ्गु सङ्क्रमित रहेको कार्यालयले जानकारी दिएको छ ।

बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटालाई रोगसँग लड्न तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस