महानगरका ४७ कर्मचारीको काज फिर्ता  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

महानगरका ४७ कर्मचारीको काज फिर्ता 


१७ श्रावण २०८०, बुधबार


पोखरा । पोखरा महानगरपालिकामा रहेका ४७ जना स्वास्थ्यका कर्मचारीको काज फिर्ता भएको छ । नगर कार्यपालिकाको कार्यालयले काज फिर्ता तथा सम्बन्धित स्थानमा हाजिर हुन पठाउने निर्णय गरेसँगै ती कर्मचारीहरू दरबन्दी भएकै ठाउँमा जानु पर्ने भएको हो । 

महानगरले स्वास्थ्य महाशाखालाई काजका कर्मचारीलाई हाजिर नगराउनु भन्दै पत्र काटेसँगै काजमा रहेका कर्मचारी दरबन्दी भएकै ठाउँमा फिर्ता हुन लागेको महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले बताए । जसमध्ये ७ जना फाजिलमा रहेका कर्मचारीको महानगरमै मिलान गरिएको र बाँकी कर्मचारी दरबन्दी भएकै ठाउँमा जाने प्रवक्ता तिम्सिनाको भनाई छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार २५ गते कोरोना महामारी नरहेको र लामो समयसम्म काजमा रहँदा स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुने स्वास्थ्य सेवामा असर पर्न गएको भन्दै साउन १ गतेदेखि काजका सबै स्वास्थ्यकर्मीलाई दरबन्दी रहेकै तहमा फिर्ता पठाउन सबै स्थानीय तहलाई परिपत्र गरेको थियो ।

सोही आधारमा महानगरपालिकाले कर्मचारी समायोजन ऐन, २०७५ अनुसार महानगर बाहेक अन्यत्र स्थानमा समायोजन भई महानगरमा कामकाजमा रहेका तथा समायोजन भई हालसम्म महानगरमा रहेका कर्मचारीहरूलाई काज फिर्ता गर्ने निर्णय भइसकेकाले हाजिर नगराउन निर्देशन दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस